आईटीको नाउँमा म्यानमार लगाएर ‘साइबर दास’ बनाउने पाँच जनाविरुद्ध मुद्दा दायर
आईटीको नाउँमा म्यानमार लगाएर ‘साइबर दास’ बनाउने पाँच जनाविरुद्ध मुद्दा दायर
    • बेल संचार

    • २२ पुष २०८२, मंगलवार

काठमाडौं, २२ पुस ।

आईटीको कामको बहाना बनाउँदै म्यानमार लगेर नेपाली नागरिकलाई साइबर दास बनाएको घटनामा पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धान र प्रतिवेदनको आधारमा काठमाडौं जिल्ला अदालतमा मानव बेचबिखन तथा आसोरपसार अन्तर्गतको मुद्दा दायर भएको हो।

मुद्दा दायर गरिएका मध्ये दुई प्रतिवादी पक्राउ परेका छन्। उनीहरू सर्लाहीको भर्दोल–९ का २४ वर्षीय रञ्जितकुमार महतो र खोटाङका ४१ वर्षीय मणिराज राई हुन्। बाँकी तीन जना—सर्लाहीका राजनारायण महतो, रामेछापका हेमबहादुर श्रेष्ठ र धनकुटाका राजेश शर्मा (भीमबहादुर गिरी)—फरार छन्।

पक्राउ परेका र फरार प्रतिवादीमाथि दुई फरक जाहेरीको आधारमा मुद्दा दायर गरिएको भए पनि दुबैको कसुर एउटै प्रकृतिको रहेको छ। उनीहरूले नेपाली नागरिकलाई थाइल्याण्डमा आईटीको काम भन्दै म्यानमार पुर्‍याएर बन्धक बनाइ, साइबर स्क्यामिङमा लगाएको आरोप छ।

मानव बेचबिखन अनुसन्धानमा उल्लेख छ कि हालसम्म ४७ नेपालीलाई उद्धार गरिएको छ। म्यानमारमा चिनियाँ गिरोहले नेपालीलाई अनलाइन स्क्यामिङमा प्रयोग गर्दै ‘साइबर दास’ बनाएको पाइएको छ।

साताकाे चर्चित
सम्बन्धित