काठमाडौँ।
नेपाल सरकारले अमेरिका र भेनेजुएलाबीच बढ्दो तनावप्रति गम्भीर चासो व्यक्त गर्दै सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै परिस्थितिलाई थप जटिल बनाउने कुनै पनि कदम नचाल्न अनुरोध गरेको हो।
अमेरिकी सेनाले भेनेजुएलाको राजधानीसहित विभिन्न शहरमा आक्रमण गरी त्यहाँका राष्ट्रपति दम्पत्तिलाई नियन्त्रणमा लिई न्यूयोर्कमा हिरासतमा राखेपछि दुई देशबीच तनाव चुलिएको छ। यस घटनाप्रति विश्वका विभिन्न मुलुकहरूले चासो र चिन्ता जनाइरहेका छन्।
नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा संयुक्त राष्ट्रसंघको बडापत्रअनुसार राज्यहरूको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान अनिवार्य रहेको उल्लेख गरिएको छ।
नेपालले अन्तर्राष्ट्रिय विवादहरू बल प्रयोग होइन, संवाद, कूटनीति र आपसी समझदारीमार्फत शान्तिपूर्ण रूपमा समाधान गर्नुपर्नेमा जोड दिएको छ।