काठमाडौँ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले संविधानको संरक्षण र लोकतान्त्रिक प्रणालीको निरन्तरताका लागि निर्वाचन अपरिहार्य रहेको बताएका छन्।
मानवअधिकार सङ्गठन तथा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सहभागिता’ विषयक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा निर्वाचनमार्फत मात्र सम्भव हुने धारणा राखे।
गृहमन्त्री अर्यालले मानवअधिकार र पीडितको पक्षमा सरकार सधैँ उभिने स्पष्ट पार्दै दण्डहीनतालाई कुनै पनि हालतमा स्वीकार नगर्ने बताए। उनले मुलुकलाई अन्तर्राष्ट्रिय रूपमा कमजोर बनाउने गरी दण्डहीनतालाई प्रश्रय नदिइने पनि उल्लेख गरे।
उनले आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाउने प्रतिबद्धता जनाए। साथै नयाँ पुस्ता, विशेषगरी जेन–जी समूहलाई मतदान प्रक्रियामा सहभागी गराउँदै राज्यको मूल धारमा ल्याउने वातावरण तयार पारिएको उनको भनाइ छ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी प्रतिनिधि माया शर्माले लोकतन्त्रलाई दीगो बनाउने एकमात्र प्रभावकारी माध्यम निर्वाचन रहेको उल्लेख गरिन्।