जुम्ला ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि जुम्ला जिल्लाबाट नरेश भण्डारीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ।
नेकपा जिल्ला कार्यालय जुम्लाबाट जारी पत्र अनुसार पार्टी केन्द्रीय समितिद्वारा जारी विशेष सर्कुलर–२ को दफा १२ अनुसार गठित कार्यदलको बैठक २०८२ पुस २१ गते अध्यक्ष राजबहादुर खत्रीको अध्यक्षतामा सम्पन्न भएको थियो। उक्त बैठकको सर्वसम्मत निर्णयअनुसार जुम्ला जिल्ला निर्वाचन क्षेत्र नं. १ बाट हुने प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि प्रत्यक्षतर्फ नरेश भण्डारीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरिएको हो।
पत्रमा उल्लेख भएअनुसार उक्त सिफारिस निर्णय कमरेड नवराज न्यौपाने (संयोजक) र राजबहादुर खत्री (अध्यक्ष) को हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौं पठाइएको छ।
पार्टी संगठनभित्र विधिसम्मत प्रक्रिया अपनाउँदै सर्वसम्मत रूपमा उम्मेदवार सिफारिस गरिएको जनाइएको छ। अब पार्टी केन्द्रबाट अन्तिम निर्णय भएपछि जुम्लाबाट प्रतिनिधिसभा उम्मेदवारको औपचारिक टुंगो लाग्नेछ।