कांग्रेसभित्र संवाद र सहमतिमा जोड, ३० केन्द्रीय सदस्यको संयुक्त अपिल
कांग्रेसभित्र संवाद र सहमतिमा जोड, ३० केन्द्रीय सदस्यको संयुक्त अपिल
    • बेल संचार

    • २५ पुष २०८२, शुक्रबार

काठमाडौँ ।

नेपाली कांग्रेसका संस्थापन पक्षसँग आबद्ध ३० जना केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्वलाई संवाद र सहमतिको माध्यमबाट एकताबद्ध भई कांग्रेसको पक्षमा सकारात्मक र परिणाममुखी वातावरण निर्माण गर्न आग्रह गरेका छन् ।

शुक्रबार बिहान ललितपुरमा बसेको बैठकपछि जारी गरिएको अपिलमा उनीहरूले पार्टीभित्र देखिएको मतभेदलाई छलफलमार्फत समाधान गर्दै आगामी निर्वाचनलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । बैठकपछि जानकारी दिँदै केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौला पन्तले महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको मागसहित लिखित निवेदन दर्ता गरिसकेको अवस्थामा त्यसप्रति गम्भीर ध्यान दिन नेतृत्वलाई आग्रह गरिएको बताइन् ।

अपिलमा विशेष महाधिवेशनको माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै संवाद र सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाइ आगामी निर्वाचनमा नयाँ ऊर्जा र दृष्टिकोणका साथ होमिनुपर्ने उल्लेख गरिएको छ । यसबाट कांग्रेसलाई जनतामाझ अझ विश्वसनीय र भरोसायोग्य विकल्पका रूपमा स्थापित गर्न सकिने उनीहरूको भनाइ छ ।

केन्द्रीय सदस्यहरूले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै परिवर्तन र रूपान्तरणका मुद्दालाई आत्मसात् गरी नयाँ सोचका साथ चुनावी प्रतिस्पर्धामा उत्रनुपर्ने आवश्यकता औँल्याएका छन् ।

अपिलमा हस्ताक्षर गर्ने केन्द्रीय सदस्यहरूमा आङ्गेलु शेर्पा, डिला सङ्ग्रौला पन्त, उदय शमशेर राणा, अर्जुन जोशी, पुष्पा भुसाल, राजेन्द्र केसी, देवेन्द्रराज कँडेल, नानु बास्तोलालगायतका नेताहरू रहेका छन् ।

साताकाे चर्चित
सम्बन्धित