काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन प्रहरी (म्यादी प्रहरी) को भर्ना प्रक्रिया सुरु भएसँगै युवाहरूको उल्लेखनीय सहभागिता देखिएको छ ।
शुक्रबार भद्रकालीस्थित काठमाडौँ प्रहरी परिसरमा म्यादी प्रहरीको दरखास्त फारम भर्न इच्छुक युवाहरूको लामो लाइन लागेको थियो । निर्वाचन सुरक्षामा खटिने उद्देश्यले यस पटक १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
म्यादी प्रहरी बन्न चाहने इच्छुक नागरिकहरूले शुक्रबारदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन् । काठमाडौँ उपत्यकाका तीनवटै जिल्ला प्रहरी परिसर तथा देशभरका सबै जिल्ला प्रहरी कार्यालयमार्फत फारम लिन र बुझाउन सकिने व्यवस्था गरिएको छ ।
भर्नाका लागि साधारण लेखपढ गर्न जान्ने, १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिक योग्य हुनेछन् । प्रहरीका अनुसार माघ ५ गतेदेखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ भने माघ १२ गते अन्तिम नतिजा सार्वजनिक गरिनेछ।