काठमाडौँ!
नेपाल प्रहरीले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षा सुनिश्चित गर्न ‘निर्वाचन प्रहरी’को भर्ना प्रक्रिया सुरु गरेको छ। शुक्रबारदेखि नेपाल प्रहरीले आफ्नो कोटामा पर्ने १ लाख ३३ हजार ९८० जनालाई भर्नाका लागि दरखास्त आह्वान गरेको छ। यसका लागि अर्थ मन्त्रालयले ७ अर्ब १३ करोड रुपैयाँको बजेट सुनिश्चित गरेको छ।
यसपटक सशस्त्र प्रहरी बल (APF) ले पनि निर्वाचन प्रहरीको कोटा पाएको छ। तर माघ २४ मा प्रहरी प्रधान कार्यालयले एकल सूचना जारी गरेपछि सशस्त्रका उच्च अधिकारीहरू अचम्ममा परेका थिए। निर्वाचन प्रहरी भर्नाको कार्यविधि–२०८२ अनुसार नेपाल प्रहरी र सशस्त्रले संयुक्त रूपमा सूचना निकाल्नुपर्ने व्यवस्था छ।
सशस्त्रका एआईजी गणेश ठाडा नेतृत्वको टोलीले गृह मन्त्रालयमा छलफल गरी आफ्नो कोटामा पर्ने १५ हजार ११० म्यादी निर्वाचन प्रहरीलाई जिल्ला सुरक्षा समितिमार्फत भर्ना गर्ने निर्णय गरेको छ। उच्च अधिकृतका अनुसार, जिल्लागत स्तरमा सूचना प्रकाशन र भर्ना प्रक्रिया जिल्ला प्रशासन कार्यालय मार्फत सञ्चालन हुनेछ।
नेपाल प्रहरीले माघ १ सम्म दरखास्त लिन र त्यसपछि तालिम सुरु गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। यसैबीच, सशस्त्र प्रहरीको भर्ना प्रक्रिया भने मतदान स्थलको आधारमा जिल्लागत संख्या निश्चित गरेपछि सञ्चालन हुने बताइएको छ।
७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सशस्त्रको कोटामा पर्ने निर्वाचन प्रहरीको भर्ना र परिचालनबारे निर्णय लिन सक्ने अधिकार पाएका छन्।