विशेष महाधिवेशन अघि कांग्रेस नेतृत्वको सक्रियता, एकताको जोड
विशेष महाधिवेशन अघि कांग्रेस नेतृत्वको सक्रियता, एकताको जोड
    • बेल संचार

    • २५ पुष २०८२, शुक्रबार

काठमाडौँ —

नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आह्वान गरेको विशेष महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीका महामन्त्री विश्वप्रकाश शर्मा, डा. चन्द्र भण्डारी र डा. सुनील शर्मा भृकुटीमण्डप पुगेका छन्। पुस २७–२८ गते हुन लागेको महाधिवेशनको तयारी अवलोकन गर्न उनीहरू त्यहाँ पुगेका हुन्।

महामन्त्री शर्माले पार्टीको विधानअनुसार प्रक्रिया पूरा भए महाधिवेशनले वैधानिकता पाउने बताए। उनले यस अवसरमा कुनै गुट वा पक्षगत चासो नभएको र पार्टीको विधि र विधानको पालना भएको हेर्न आएको स्पष्ट पारे। विशेष महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि त्यसको कार्यविधि निर्माण हुनेछ र सोही अनुसार महाधिवेशनले आवश्यक निर्णयहरू लिने जानकारी उनले दिए।

डा. भण्डारीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन र एकताको सन्देश दिन आफूहरू एकसाथ भृकुटीमण्डप पुगेको बताए। उनले युवाहरूको अभियानलाई सकारात्मक रूपमा मूल्यांकन गर्दै यो महाधिवेशनले पार्टीमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरे। पार्टीका ७७ वटै जिल्लाका सदस्यहरूको भावना र योगदानको कदर गर्न उनले आग्रह गरे।

डा. सुनील शर्माले भने, संस्थापन पक्षले विशेष महाधिवेशन रोक्ने प्रयास गर्दा उत्पन्न बाध्यताका कारण यो प्रक्रिया सुरु भएको हो। उनले महाधिवेशन प्रतिनिधिहरूको ५४ प्रतिशतभन्दा बढी हस्ताक्षर संकलन भइसकेको दाबी गरे। प्रारम्भमा २३–२४ जिल्लाबाट हस्ताक्षर आए पनि हाल २५० भन्दा बढी सदस्यले हस्ताक्षर थपिसकेको उल्लेख उनले गरे।

भृकुटीमण्डपमा महाधिवेशनको मञ्च र टेन्ट निर्माणको काम पनि धमाधम भइरहेको छ। पार्टी नेतृत्वले विधि र विधानको पालना गर्दै एकता र निष्पक्षतामा जोड दिने तयारी गरेको बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित