काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको (मंसिर मसान्तसम्म) देशको आर्थिक र वित्तीय स्थिति सार्वजनिक गरेको छ।
केन्द्रीय बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वार्षिक उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशतमा सीमित रह्यो, जुन अघिल्लो वर्षको सोही अवधिको ६.०५ प्रतिशतको तुलनामा उल्लेखनीय कम हो। खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशत ऋणात्मक रहँदा, गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत कायम भएको छ।
यस अवधिमा विप्रेषण (रेमिट्यान्स) ३५.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा पनि रेमिट्यान्स २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।
मुलुकको कुल विदेशी विनिमय सञ्चिति ऐतिहासिक उच्च स्तरमा पुगेको छ। असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको विदेशी विनिमय सञ्चिति मंसिर मसान्तमा ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ। यो सञ्चितिले लगभग १८.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।
देश भित्रिने र बाहिरिने रकमको अन्तर देखाउने शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब १९ करोडमा रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको २ खर्ब २५ अर्ब ३४ करोडको तुलनामा बढेको हो। चालु खाता पनि ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ।
बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर घट्दो क्रममा देखिएको छ। मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूको औसत आधार दर ५.३८ प्रतिशत, निक्षेपको भारित औसत ब्याजदर ३.६६ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ७.२६ प्रतिशत कायम भएको छ।
यसै अवधिमा कुल वस्तु निर्यात ५८.२ प्रतिशतले र आयात १५.८ प्रतिशतले वृद्धि भई कुल व्यापार घाटा १०.५ प्रतिशतले बढेर ६ खर्ब ४८ अर्ब ६४ करोड पुगेको छ।
नेपाल राष्ट्र बैंकको विश्लेषणअनुसार, मुद्रास्फीतिमा नियन्त्रण, रेमिट्यान्समा वृद्धि र विदेशी विनिमय सञ्चितिको ऐतिहासिक उचाइले मुलुकको आर्थिक अवस्था स्थिर रहेको देखाएको छ।
Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Five-Month-data-of-2082.83