काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पछिल्लो पाँच महिनामा नेपालमा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ।
नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार, यस अवधिमा रेमिट्यान्स ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण ४.७ प्रतिशतले मात्र वृद्धि भएको थियो। मङ्सिर महिनामा मात्रै रेमिट्यान्स १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ भएको छ, जुन अघिल्लो वर्षको सोही महिनामा १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो।
अमेरिकी डलरमा रेमिट्यान्स २९ प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ, अघिल्लो वर्ष यसमा केवल ३.४ प्रतिशत वृद्धि देखिएको थियो।
त्यस्तै, समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ९५४ अर्ब ७८ करोड पुगेको छ, जुन अघिल्लो वर्ष ७०० अर्ब ४३ करोड थियो।
राष्ट्र बैंकका अनुसार वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिन आउने नेपालीको संख्या पनि बढेको छ। पछिल्लो पाँच महिनामा नयाँ स्वीकृति लिनेको संख्या १ लाख ७५ हजार ५९१ र पुनः स्वीकृति लिने १ लाख ६३ हजार ९२४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ मात्र थियो।
यसले नेपालको रेमिट्यान्स र वैदेशिक रोजगारीमा उल्लेखनीय वृद्धिको संकेत गरेको छ।