रवी–कुलमान भेटपछि पनि रास्वपा–उनेपा एकता अझै अधुरो
रवी–कुलमान भेटपछि पनि रास्वपा–उनेपा एकता अझै अधुरो
    • बेल संचार

    • २५ पुष २०८२, शुक्रबार
रवी–कुलमान भेटपछि पनि रास्वपा–उनेपा एकता अझै अधुरो

काठमाडौँ —

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बिच पुस १४ गते भएको एकताको सहमति कार्यान्वयनमा ढिलाइ भइरहेको छ। सहमतिअनुसार कदम चाल्नुपर्ने रास्वपा पक्ष नउभिएकाले दुई पार्टीबीचको एकताको प्रक्रिया पूर्ण हुन सकेको छैन।

मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले शुक्रबार बिहान रास्वपा सभापति रवि लामिछानेसँग बुढानीलकण्ठमा व्यक्तिगत भेटवार्ता गरी पूर्व सहमति र समायोजनका विषयमा छलफल गरेका छन्। स्रोतका अनुसार भेटवार्ता सम्मानजनक तर निष्कर्षमा पुग्न नसकेको बताइएको छ।

उज्यालो नेपालका स्रोतले भने, मुख्य विवादको केन्द्रमा संघीयता, धर्मनिरपेक्षता र समावेशिताका सैद्धान्तिक मुद्दा रहेको बताएका छन्। यस विषयमा लिखित सहमति आवश्यक रहे पनि रास्वपा पक्ष अझै हस्ताक्षर गर्न तयार नभएको स्रोतले जानकारी दिएको छ।

कुलमान पक्षले रास्वपामा समानुपातिक सूचीमा १८ जनाको नाम सुनिश्चित गर्न, केहीलाई प्राथमिकतामा राख्न तथा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारीमा उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने अडान राखेको छ। तर, रास्वपा पक्षले यस मागलाई अस्वीकार गर्दै आएको बताइएको छ।

यसअघि रास्वपाले काठमाडौँ महानगरका मेयर बालेन शाहसँग सहमति गर्दै आफ्नो तर्फबाट २६ सदस्य केन्द्रीय समितिमा थपेका थिए। तर, उज्यालो नेपाल पार्टीबाट अहिलेसम्म कुनै सदस्य समावेश भएको छैन र सहमतिको बाँकी प्रक्रिया जारी छ।

एकताको स्थायित्वका लागि दुवै पक्षले राजनीतिक तथा प्राविधिक छलफल जारी राख्ने तयारी गरेको छ, र लिखित सहमति जुटाउने प्रयास भैरहेको छ।

साताकाे चर्चित
सम्बन्धित