काठमाडौँ ।
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण अन्ततः स्थगित भएको छ। मन्त्री गुप्ता अमेरिका नजाने निर्णयमा पुगेको जानकारी उनका प्रमुख स्वकीय सचिव विनोद रिमालले दिएका छन्।
रिमालका अनुसार मन्त्री गुप्ता अमेरिका जाने चर्चा भए पनि त्यससम्बन्धी प्रक्रिया समयमै टुंगिन सकेन। मन्त्रिपरिषद्बाट निर्णय हुन ढिलाइ हुनुका साथै भ्रमण गर्ने वा नगर्ने विषयमा अन्तिम निष्कर्ष ननिस्कँदा भिसा आवेदनसमेत नदिइएको उनले बताए। अब अमेरिका जाने कार्यक्रम नरहेको उनको भनाइ छ।
मन्त्री गुप्ता नक्कली निमन्त्रणा पत्रका आधारमा ‘जेनजी आन्दोलनपछि नेपालको विकासमा गैरआवासीय युवाको भूमिका’ विषयक कार्यक्रममा सहभागी हुन अमेरिका जान लागेको भन्ने आरोप लागेपछि उनको भ्रमणलाई लिएर सार्वजनिक रूपमा तीव्र आलोचना भएको थियो।
यसअघि पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री गुप्तालाई अमेरिका भ्रमणका लागि स्वीकृति दिएको थियो। तर पछिल्ला घटनाक्रम र विवादका कारण उक्त भ्रमण कार्यान्वयनमा जान सकेन।