काठमाडौं उपत्यकाका २९ दुर्घटना–संवेदनशील क्षेत्र पहिचान, ट्राफिकको विशेष कार्ययोजना लागू
काठमाडौं उपत्यकाका २९ दुर्घटना–संवेदनशील क्षेत्र पहिचान, ट्राफिकको विशेष कार्ययोजना लागू
    • बेल संचार

    • २५ पुष २०८२, शुक्रबार

काठमाडौं ।

काठमाडौं उपत्यकामा बारम्बार सवारी दुर्घटना हुने स्थानहरू पहिचान गर्दै ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि लक्षित योजना कार्यान्वयनमा ल्याएको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले पछिल्ला वर्षहरूको दुर्घटना तथ्यांक विश्लेषण गरी उपत्यकाभित्रका २९ स्थानलाई ‘ब्ल्याक स्पट’का रूपमा सूचीकृत गरेको हो। ती स्थानहरूमा विशेष निगरानी, सुधार र जनचेतनाका कार्यक्रम सञ्चालन गरिने ट्राफिक प्रहरीको भनाइ छ।

ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीका अनुसार दुर्घटनाको दर अत्यधिक देखिएका क्षेत्रहरूलाई प्राथमिकतामा राखेर संरचनागत कमजोरी, ट्राफिक व्यवस्थापन र चालकको व्यवहार सुधारमा केन्द्रित कार्यक्रम अघि बढाइनेछ।

सूचीकृत ब्ल्याक स्पटहरूमा कोटेश्वर, सातदोबाटो, भक्तपुर, जावलाखेल, काँडाघारी, कलंकी, महाराजगञ्ज, नयाँ बसपार्क, बल्खु, गौशाला, स्वयम्भू, सानेपा, सिंहदरबार, गट्ठाघर र बौद्ध क्षेत्रका मुख्य चोक तथा सडक खण्डहरू रहेका छन्।

ट्राफिक प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र कोटेश्वर–बालकुमारी, जडिबुटी, गौरीगाउँ, बानेश्वर, ग्वार्को, एकान्तकुना, सल्लाघारी, जगाती, नख्खु, कलंकी, नारायणगोपाल चोक, माछापोखरी, गट्ठाघर र बौद्ध गेट आसपासका सडक खण्डमा उल्लेख्य संख्यामा दुर्घटना भएका छन्।

रामशाहपथका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्षको प्रारम्भिक तथ्यांकले पनि ती क्षेत्रहरू अझै दुर्घटना–जोखिममा रहेको देखाएको छ। त्यसैले चालकहरूलाई ती स्थानमा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ।

यिनै जोखिमयुक्त स्थानको सुधार र जनचेतनालाई लक्षित गर्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले शुक्रबारदेखि ‘ट्राफिक सप्ताह–२०८२’ सुरु गरेको छ। एक सातासम्म सञ्चालन हुने ट्राफिक सप्ताह माघ २ गते समापन हुनेछ।

ट्राफिक सप्ताहअन्तर्गत सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जनचेतनामूलक कार्यक्रम, रात्रिकालीन सवारीमा सचेतना भिडियो प्रदर्शन, राइड सेयर चालक लक्षित प्रशिक्षण तथा सार्वजनिक सवारीमा जीपीएस र सीसी क्यामेरा जडानका लागि समन्वय गरिने ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले यी प्रयासले बढ्दो सवारी दुर्घटना नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

साताकाे चर्चित
सम्बन्धित