काठमाडौँ ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई समर्थन गर्ने समूहले उद्घाटन समारोहअघि काठमाडौंमा जुलुस प्रदर्शन गर्ने तयारी गरेको छ। आगामी २७ र २८ पुसमा हुने विशेष महाधिवेशनको उद्घाटन २७ पुस आइतबार दिउँसो १२ बजे भृकुटीमण्डपमा हुँदैछ।
उद्घाटन सुरु हुनुअघि विभिन्न स्थानबाट जुलुस निकालेर भृकुटीमण्डपमा भेला हुने कार्यक्रम तय गरिएको महाधिवेशन आयोजक समितिले जनाएको छ। शुक्रबार विशेष महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा नेता जगदीश्वरनरसिंह केसीले जुलुसका रुट र समयबारे जानकारी दिए।
उनका अनुसार काठमाडौं र ललितपुरका विभिन्न स्थानबाट बिहान ११ बजे एकैसाथ जुलुस सुरु हुनेछ। सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस, कमलपोखरी र ललितपुरको कुपण्डोललाई जम्मा हुने मुख्य केन्द्र तोकिएको छ।
सुन्धाराबाट चितवन, अर्घाखाँची, नवलपुर र सुदूरपश्चिमका जिल्लाबाट आएका नेता–कार्यकर्ता सहभागी हुनेछन् भने रत्नपार्कबाट नुवाकोट, रसुवा, धादिङ तथा काठमाडौंका उत्तरी क्षेत्रका कांग्रेस कार्यकर्ता जुलुसमा सहभागी हुनेछन्।
त्यसैगरी पद्मकन्या क्याम्पस र शंकरदेव क्याम्पसबाट मधेस, पूर्वी तथा मध्य पहाडी जिल्लाका नेता–कार्यकर्ता जुलुसमा समेटिनेछन्। कमलपोखरी र कुपण्डोलबाट निस्कने जुलुसमा काठमाडौं, ललितपुर र मकवानपुरका कांग्रेस नेता–कार्यकर्ताको सहभागिता रहने आयोजक समितिले जनाएको छ।
सबै जुलुस विभिन्न मार्ग हुँदै भृकुटीमण्डपमा पुगेर विशेष महाधिवेशनको उद्घाटन समारोहमा समाहित हुने कार्यक्रम तय गरिएको छ।