जुम्ला ।
हिमा गाउँपालिका–१ देवारगाउँ घर भएका समाजसेवी छत्रबहादुर शाहीले आफ्नो ५४औँ जन्मोत्सवको अवसरमा हिमा गाउँपालिका–३ का ४२२ जना महिलालाई न्यानो कपडा वितरण गर्नुभएको छ।
वडा नम्बर ३ अन्तर्गत पर्ने जोगिवाडा, चेम र मोफ्ला गाउँका प्रत्येक घरधुरीबाट एक–एक महिलालाई एक–एक थान पछौरा वितरण गरिएको समाजसेवी शाहीले जानकारी दिनुभयो।
शाहीका अनुसार, आफूले जीवनका पहिलो ५० वर्ष आफ्ना लागि कमाएपछि बाँकी जीवन समाजसेवामा समर्पित गर्ने संकल्पसहित अपाङ्ग, गरिब, टुहुरा बालबालिका तथा विपन्न व्यक्तिहरूलाई सहयोग गर्दै आउनुभएको छ।
“अघिल्लो वर्ष हिमा गाउँपालिकाको कालिका आधारभूत विद्यालय, देवारगाउँका विद्यार्थीलाई पोसाक वितरण गरेको थिएँ। यस वर्ष वडा नम्बर ३ का महिलालाई न्यानो कपडा वितरण गरें। आगामी वर्ष वडा नम्बर २ को ओदी क्षेत्रमा सहयोग गर्ने योजना छ,” उहाँले भन्नुभयो।
आफ्नो जन्मभूमिप्रति माया दर्शाउँदै जाडो मौसममा महिलालाई न्यानो कपडाको सहयोग गरेकोमा वडा नम्बर ३ का वडाध्यक्ष धनवीर रोकायाले समाजसेवी शाहीलाई बधाई दिँदै जन्मदिनको शुभकामना व्यक्त गर्नुभयो।
वडा नम्बर ३ को वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा महिलाहरूलाई न्यानो कपडा वितरण गरिएको थियो। कार्यक्रममा स्थानीय महिलाहरूले देउडा खेल्दै नाचगानसहित गीतमार्फत शाहीलाई जन्मदिनको शुभकामना दिएका थिए।
जुम्लाको कडा जाडो मौसममा न्यानो कपडा पाउँदा स्थानीय महिलाहरू खुशी भएको बताएका छन्।