माघी नजिकिँदै गर्दा थारू बस्तीमा ढिक्री बनाउने चहलपहल
माघी नजिकिँदै गर्दा थारू बस्तीमा ढिक्री बनाउने चहलपहल
    • बेल संचार

    • २८ पुष २०८२, सोमबार

दाङ ।

माघी पर्व नजिकिँदै जाँदा दाङका थारू समुदायमा ढिक्री बनाउने चटारो बढेको छ। तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी जानकी चौधरी र तुलसीपुर–१० बनकाउकी विझौनी थारूजस्तै धेरै महिलाहरू अहिले ढिक्री तयार गर्न व्यस्त छन्।

माघीलाई विशेष पर्वका रूपमा मनाउने थारू समुदायमा ढिक्री हरेक चाडपर्वको मुख्य परिकार मानिन्छ। ढिक्री सुँगुरको मासु, माछा, घोँगीलगायत परिकारसँग खाने परम्परा रहेको छ, जसलाई थारू समुदायको मौलिक खानाको रूपमा चिनिन्छ।

ढिक्री चामलको पीठोबाट बनाइन्छ। पीठोलाई मुछेर विशेष आकार दिइन्छ। माघीमा प्रायः लाम्चो आकारको ढिक्री बनाइन्छ भने दसैँमा गोलो र तिहारमा दियो जस्तो चेप्टो आकार दिने चलन छ।

आकार दिइसकेपछि ढिक्रीलाई पानीको बाफमा करिब आधा घण्टा उसिनिन्छ। तेल, घिउ वा चिनी प्रयोग नगरी बनाइने भएकाले ढिक्री स्वास्थ्यका लागि लाभदायक मानिन्छ। पौराणिक मान्यताअनुसार ढिक्री सेवन गर्दा आयु बढ्ने विश्वास पनि रहेको छ।

माघी नजिकिँदै जाँदा ढिक्रीसँगै थारू समुदायको संस्कृति, परम्परा र पहिचान पनि जीवन्त बन्दै गएको देखिन्छ।

साताकाे चर्चित
सम्बन्धित