भोजपुर ।
महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यसहित टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा पाँचदिने व्यावसायिक तरकारी खेतीसम्बन्धी तालिम सम्पन्न भएको छ । स्थानीयस्तरमै रोजगारी सिर्जना गर्दै महिलाको आम्दानी बढाउने लक्ष्यका साथ तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
तालिममार्फत परम्परागत कृषि प्रणालीलाई आधुनिक र व्यावसायिक अभ्यासतर्फ रूपान्तरण गर्न जोड दिइएको छ । सहभागी महिलालाई मौसमअनुसार तरकारी छनोट, उन्नत खेती प्रविधि, प्लास्टिक टनेल निर्माण तथा टनेलभित्र उत्पादन गर्ने तरिका, जैविक मल र विषादी बनाउने विधि, बीउबिजनको तयारी, सिँचाइ व्यवस्थापन र रोग–किरा नियन्त्रणसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको छ ।
वडाअध्यक्ष नरबहादुर राईका अनुसार महिलालाई सीपमूलक तालिममार्फत कृषि उद्यममा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो । उनले तालिममा सहभागी २५ जना महिलालाई आवश्यक बीउबिजनसहित ८५ प्रतिशत अनुदानमा एक–एक थान प्लास्टिक टनेल वितरण गरिएको जानकारी दिए ।
तालिमपछि महिलाले व्यक्तिगत तथा समूहगत रूपमा व्यावसायिक तरकारी खेती सुरु गर्ने प्रतिबद्धता जनाएका छन् । यसले बाहिरबाट आयात हुने तरकारीमा निर्भरता घटाउने र स्थानीय बजारमा ताजा तरकारीको उपलब्धता बढाउने अपेक्षा गरिएको छ ।
गाउँपालिका उपाध्यक्ष रमादेवी राईका अनुसार यस्ता तालिमले महिलाको आर्थिक सशक्तिकरणसँगै गाउँको समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्नेछ । यो कार्यक्रम टेम्केमैयुङ गाउँपालिकाको महिला लक्षित कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको हो ।