जेन–जी फ्रन्टका ओझा र खनाल प्रतिनिधिसभा निर्वाचनमा होमिँदै
जेन–जी फ्रन्टका ओझा र खनाल प्रतिनिधिसभा निर्वाचनमा होमिँदै
    • बेल संचार

    • २९ पुष २०८२, मंगलवार

काठमाडौं ।

नेपाल जेन–जी फ्रन्टका सक्रिय सदस्य यतिष ओझा र मनिष खनाल आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेका छन् । दुवै अधिवक्तासमेत रहेका उनीहरू जेन–जी फ्रन्टको समर्थनमा संसदीय चुनावमा सहभागी हुन लागेका हुन् ।

ओझाले झापा क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने तयारी गरेका छन् भने खनाल नवलपुर–२ बाट उम्मेदवारी दिने तयारीमा छन् । झापा–५ मा बालेन शाह उम्मेदवार बनेमा ओझाले सोही जिल्लाको अर्को निर्वाचन क्षेत्र रोज्ने तयारी गरेको बताइएको छ ।

जेन–जी फ्रन्टका संगठन प्रमुख युजन राजभण्डारीका अनुसार भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनमा अग्रपङ्क्तिमा सक्रिय रहेका ओझा र खनाल आन्दोलनका एजेन्डा स्थापित गर्न निरन्तर क्रियाशील रहँदै आएका छन् । अब उनीहरू संसदीय राजनीतिमा प्रवेश गरेर जनताको आवाज संसदसम्म पुर्‍याउने तयारीमा रहेको उनले बताए ।

राजभण्डारीका अनुसार जेन–जी फ्रन्ट केवल पार्टीगत राजनीतिका लागि मात्र गठन भएको संगठन होइन । फ्रन्टभित्र सडकमै दबाबमूलक राजनीति गर्ने र संसदमार्फत परिवर्तन खोज्ने दुवै धार सक्रिय छन् । केही सदस्यहरू स्थानीय तथा प्रदेश तहको राजनीतिमा केन्द्रित हुने तयारीमा पनि रहेका छन् ।

हालसम्म जेन–जी आन्दोलनका अगुवा पुरुषोत्तम यादव र टासी ल्हाजोम राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीमा परिसकेका छन् । अन्य नेताहरूको राजनीतिक यात्रा भने अझै खुल्न बाँकी रहेको बताइएको छ ।

यसैबीच, जेन–जी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले गोरखा–१ बाट चुनाव लड्ने घोषणा गरिसकेका छन्, यद्यपि कुन दलबाट उम्मेदवारी दिने भन्ने खुलाएका छैनन् ।

जेन–जी फ्रन्टकी संयोजक रक्षा बम, काउन्सिल अफ जेन–जीका प्रदेश १ संयोजक उपार्जुन चाम्लिङ लगायत अन्य नेताहरू पनि चुनावी राजनीतिमा होमिने दबाबमा रहे पनि हालसम्म औपचारिक निर्णय सार्वजनिक गरेका छैनन्

साताकाे चर्चित
सम्बन्धित