सेवा प्रवाह जनताले महसुस गर्ने गरी गर्न मन्त्री खरेलको निर्देशन
सेवा प्रवाह जनताले महसुस गर्ने गरी गर्न मन्त्री खरेलको निर्देशन
    • बेल संचार

    • २९ पुष २०८२, मंगलवार

काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारी सेवामा प्रत्यक्ष अनुभूति हुने सुधार ल्याउन कर्मचारीहरूलाई निर्देशन दिएका छन्। मंगलबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयको अनुगमनका क्रममा उनले जनसेवाको भावनासहित काम गर्न कर्मचारीलाई आग्रह गरेका हुन्।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री खरेलले बदलिँदो राजनीतिक अवस्था र जनआकांक्षालाई ध्यानमा राख्दै सेवा प्रणाली सुधार गर्नुपर्ने बताए। कर्मचारी र सेवाग्राहीबीचको सम्बन्ध अझ नजिक हुनुपर्ने उल्लेख गर्दै उनले जनताको विश्वास जित्ने गरी काम गर्न जोड दिए।

उनका अनुसार सरकारी कार्यालयबाटै जनताले परिवर्तनको अनुभूति पाउनुपर्छ। कर्मचारी र राजनीतिज्ञ दुवै जनताका सेवक भएको अनुभूति दिलाउन सके राज्य र कर्मचारीतन्त्रप्रति जनताको अपनत्व बढ्ने उनले बताए।

अनुगमनका क्रममा मन्त्री खरेलले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको हालको सेवा प्रवाहप्रति सन्तोष व्यक्त गरे। सो अवसरमा प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यालयले प्रदान गरिरहेका सेवा तथा प्रशासनिक गतिविधिबारे जानकारी गराएका थिए।

मन्त्री खरेलले जनताका काममा ढिलासुस्ती नगर्न, प्रविधिको अधिकतम प्रयोग गर्न र सेवाको गुणस्तर बढाउन विशेष ध्यान दिन कर्मचारीलाई निर्देशन दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित