देउवा–गगन–विश्वप्रकाशबीच निर्णायक वार्ता पनि निष्कर्षविहीन
देउवा–गगन–विश्वप्रकाशबीच निर्णायक वार्ता पनि निष्कर्षविहीन
    • बेल संचार

    • ३० पुष २०८२, बुधबार

काठमाडौं ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि उत्पन्न आन्तरिक विवाद समाधान गर्ने उद्देश्यले पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीच बुधबार बिहान महत्वपूर्ण छलफल भएको छ। आइतबारदेखि सुरु भएको महाधिवेशनसँगै चर्किँदै गएको असन्तुष्टि मत्थर पार्ने प्रयासस्वरूप भएको यो छलफललाई निकै अर्थपूर्ण रूपमा हेरिएको थियो।

तर, लामो छलफलका बाबजुद पनि कुनै ठोस सहमति नजुटेपछि महामन्त्रीद्वय थापा र शर्मा वार्तास्थलबाट बाहिरिएका छन्, जसले पार्टीभित्रको तनाव अझै कायमै रहेको संकेत दिएको छ।

छलफलका क्रममा महामन्त्रीद्वयले सभापति देउवालाई निष्क्रिय भूमिका त्यागेर स्पष्ट निर्णय लिन आग्रह गरेका थिए। तर महामन्त्रीद्वयका अनुसार देउवाले उनीहरूको सुझावमा केवल मुन्टो हल्लाए पनि स्पष्ट जवाफ नदिएको बताइएको छ।

सभापति देउवाले भने आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय केन्द्रीय कार्यसम्पादन समितिबाट भइसकेको र त्यसपछि आफूले नेतृत्व छाड्ने सार्वजनिक प्रतिबद्धता गरिसकेको तर्क राखेका थिए। उनका अनुसार विधानअनुसार आफू पुनः उम्मेदवार बन्न नमिल्ने भएकाले सहमतिमै अघि बढ्नुपर्ने आवश्यकता छ।

वार्तामा सहभागी संस्थापन पक्षका एक नेताका अनुसार देउवाले ‘तीन महिनामा हुने के नै छ र ?’ भन्दै सहमतिका साथ महाधिवेशनसम्म पार्टीलाई अघि बढाउन आग्रह गरेका थिए। उनले राष्ट्रिय सभाका उम्मेदवारीदेखि प्रतिनिधिसभाको बन्द सूचीसम्म आफ्नै हस्ताक्षर प्रयोग भइसकेको उल्लेख गर्दै, अब प्रत्यक्षतर्फको उम्मेदवारको टिकटमा अर्को नेताको हस्ताक्षर कानुनसम्मत भए आफू त्यसका लागि पनि तयार रहेको धारणा राखेका थिए।

ती नेताका अनुसार देउवाले भनेका थिए, ‘निर्वाचन आयोग र कानुनका जानकारसँग छलफल गरेर निकास निकाल्न सकिन्छ। मैले नेतृत्व छोड्ने घोषणा गरिसकेको छु, विधानले पनि मलाई उम्मेदवार बन्न रोक्छ।’

सभापति देउवाको यस आग्रहपछि महामन्त्रीद्वय थापा र शर्माले आफ्ना साथीहरूसँग थप छलफल गर्नुपर्ने भन्दै वार्ताबाट बाहिरिएको ती नेताले बताएका छन्।

यस घटनाक्रमसँगै नेपाली कांग्रेसभित्रको शक्ति सन्तुलन, नेतृत्व हस्तान्तरण र विशेष महाधिवेशनको दिशा अझै अनिश्चित र तनावपूर्ण मोडमा पुगेको विश्लेषकहरूको टिप्पणी छ।

साताकाे चर्चित
सम्बन्धित