चितवन ।
देवघाटको बेनी क्षेत्रमा बाँसको लिङ्गो ठड्याएसँगै माघेसङ्क्रान्ति मेलाको औपचारिक सुरुआत भएको छ। चितवन, तनहुँ र नवलपरासीको सङ्गमस्थल देवघाटमा हरेक वर्ष लाग्ने यस ऐतिहासिक मेलाले धार्मिक वातावरण थप जीवन्त बनाएको छ।
मेलाको उद्घाटन अवसरमा बेनीस्थित गलेश्वर आश्रमका पीठाधीश आत्मानन्द गिरी, नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती, महेश सन्न्यास आश्रमका पीठाधीश रमणानन्द गिरीलगायत धर्मगुरुहरूको सहभागिता रहेको थियो। साथै देवघाट क्षेत्र विकास समितिका अध्यक्ष ईश्वरीराज लौडारी, कार्यकारी निर्देशक सदन बराल, समितिका सदस्य तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति देखिएको थियो।
मेलालाई सुरक्षित र व्यवस्थित बनाउन सबै आवश्यक तयारी पूरा गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए। उनका अनुसार यस वर्ष करिब तीन लाख भक्तजन देवघाट पुग्ने अनुमान गरिएको छ।
माघेसङ्क्रान्ति मेलाका क्रममा देवघाट क्षेत्रमा स्नान, पूजा तथा दानधर्म गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ।