प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत बोनस शेयर पारित
प्राइम कमर्सियल बैंकको १८ औं वार्षिक साधारणसभा सम्पन्न, ८ प्रतिशत बोनस शेयर पारित
    • बेल संचार

    • ३० पुष २०८२, बुधबार

काठमाडौँ ।

प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा शुक्रबार बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेअनुसार उक्त लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक पदका लागि वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । डा. विष्ट यसअघि पनि बैंकको सञ्चालक रहिसक्नुभएको छ ।

साधारणसभामा अध्यक्ष श्रेष्ठले बैंकलाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने सम्पूर्ण शेयरधनी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा पनि बैंकले सेवा तथा शाखा सञ्जाल विस्तारलाई निरन्तरता दिँदै शेयरधनीलाई समयसापेक्ष प्रतिफल प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साथै, ग्राहक केन्द्रित डिजिटल समाधानमार्फत बैंकिङ सेवा थप आधुनिक, सरल र प्रभावकारी बनाउने दिशामा बैंक अघि बढ्ने अध्यक्ष श्रेष्ठको भनाइ छ ।

उक्त जानकारी बैंकका कम्पनी सचिव सन्तोष बरालले जारी गरेको प्रेस विज्ञप्तिमार्फत दिइएको हो ।

साताकाे चर्चित
सम्बन्धित