मतदान अधिकृतको भूमिका र जिम्मेवारी के–के छन् ?
मतदान अधिकृतको भूमिका र जिम्मेवारी के–के छन् ?
    • बेल संचार

    • २ माघ २०८२, शुक्रबार

काठमाडौँ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान केन्द्रमा खटिने मतदान अधिकृतको भूमिका के हुन्छ भन्ने विषयमा आम नागरिकमा चासो देखिन्छ। निर्वाचन आयोगले मतदान अधिकृतको काम, कर्तव्य र अधिकार स्पष्ट रूपमा निर्धारण गरेको छ।

निर्वाचन आयोगले जारी गरेको प्रतिनिधिसभा सदस्य मतदान निर्देशिका, २०८२ अनुसार मतदान अधिकृत नियुक्त भएपछि अनिवार्य रूपमा निर्वाचनसम्बन्धी तालिममा सहभागी हुनुपर्ने व्यवस्था छ। साथै, मतदानका लागि आवश्यक सम्पूर्ण सामग्री रुजु गरी बुझिलिनु उनीहरूको पहिलो जिम्मेवारी हुन्छ।

निर्देशिकाअनुसार मतदान अधिकृतले आफू खटाइएको मतदान केन्द्रमा सहायक मतदान अधिकृत, अन्य कर्मचारी तथा सुरक्षाकर्मीसँग समन्वय गरी समयमै पुग्नुपर्नेछ। तोकिएको समयमा मतदान केन्द्र निर्माण गर्ने र कुनै सुरक्षा, भौगोलिक वा अन्य कारणले मतदान सम्भव नहुने अवस्था आएमा तत्काल निर्वाचन अधिकृतलाई जानकारी गराउनुपर्ने प्रावधान पनि छ।

मतदान अधिकृतले मतदान हुनुअघि मतदाता परिचयपत्र वितरणको व्यवस्था मिलाउने, केन्द्रमा खटिएका कर्मचारी तथा स्वयंसेवकलाई कामको जिम्मेवारी बाँडफाँट गर्ने जिम्मा लिन्छन्। मतदानको क्रममा मतपत्रमा हस्ताक्षर गर्ने, मतदान प्रक्रिया सहज र व्यवस्थित बनाउन निरन्तर निगरानी गर्ने तथा मतदानको अवस्थाबारे समय–समयमा निर्वाचन अधिकृतलाई जानकारी गराउने उनीहरूको दायित्व हुन्छ।

मतदानको दिन केन्द्रमा आउने पर्यवेक्षक, अनुगमनकर्ता, पत्रकार, घुम्ती टोली तथा सुरक्षाकर्मीलाई मतदानको अवस्थाबारे आवश्यक जानकारी गराउनु पनि मतदान अधिकृतको जिम्मेवारी हो। साथै, निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गराउने र कुनै पनि गैरकानुनी गतिविधि हुन नदिन सतर्क रहनुपर्ने व्यवस्था गरिएको छ।

मतदान सम्पन्न भएपछि मुचुल्का तयार गरी मतपेटिका सिलबन्दी गर्ने र सबै निर्वाचन सामग्री सुरक्षित रूपमा निर्वाचन अधिकृतलाई बुझाउनुपर्ने निर्देशिकामा उल्लेख छ। निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ अनुसारको अधिकार प्रयोग गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउनु मतदान अधिकृतको प्रमुख कर्तव्य मानिएको छ।

साताकाे चर्चित
सम्बन्धित