बाह्रै महिना घुम्नलायक बन्दै ढोरपाटन
बाह्रै महिना घुम्नलायक बन्दै ढोरपाटन
    • बेल संचार

    • २ माघ २०८२, शुक्रबार

बागलुङ ।

ढोरपाटन क्षेत्रमा यतिबेला अत्यधिक चिसो बढेको छ। बिहानपख धारामा पानी जम्ने र बाक्लो तुसारो पर्ने भएकाले दैनिक हिँडडुलसमेत कठिन बन्दै गएको छ। चिसो बढेसँगै धेरै स्थानीय बासिन्दा बेँसी झरेका छन् भने अस्थायी रूपमा बसोबास गर्ने र होटल व्यवसायीहरू मात्र ढोरपाटनमा रहेका छन्।

यसअघि हिउँद याममा प्रायः सुनसान रहने ढोरपाटन यस वर्ष भने फरक देखिएको छ। कडा जाडोका बाबजुद पनि पर्यटकको आगमन निरन्तर भइरहेकाले स्थानीय व्यवसायी उत्साहित बनेका छन्। ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन अदैका अनुसार अघिल्ला वर्षहरूमा करिब चार महिना होटल बन्द गर्नुपर्ने अवस्था रहे पनि यसपालि भने एक दिन पनि खाली बस्न नपरेको अवस्था छ।

पछिल्लो पाँच वर्षयता ढोरपाटनमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ। अध्यक्ष अदैका अनुसार यस वर्ष पहिलो पटक हिउँद याममै पर्यटकको नियमित चहलपहल देखिएको हो। शुक्रबार र शनिबार करिब दुई सय जनासम्म पर्यटक आउने गरेका छन् भने अन्य दिनमा पनि ३० देखि ५० जनासम्म पुग्ने गरेका छन्। बुटवल, पोखरा, काठमाडौँ, चितवन, भैरहवा लगायत देशका विभिन्न स्थानबाट पर्यटक आउन थालेको उनले बताए।

अघिल्लो वर्षसम्म यस समयमा ढोरपाटन प्रायः सुनसान रहने गरेको स्मरण गर्दै अध्यक्ष अदैले सडक पूर्वाधार सुधार हुँदै गएकाले आगामी वर्षदेखि बाह्रै महिना पर्यटक आउने वातावरण बन्ने आशा व्यक्त गरे।

एक दशकअघिसम्म ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या निकै कम थियो। तर पछिल्लो समय तीव्र प्रचारप्रसार, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएको चासोका कारण बर्खायाममा मात्र होइन, जाडो याममा पनि आन्तरिक तथा बाह्य पर्यटक पुग्न थालेका छन्। ढोरपाटनसँगै बुकीपाटन र जलजलातर्फ जाने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ।

होटल व्यवसायी धीरेन्द्र घर्तीमगरका अनुसार खानपान र बसोबासको सुविधा सुधारिँदै जाँदा चिसो मौसममा पनि पर्यटक आकर्षित भएका हुन्। टाढाबाट आउने पर्यटकले अग्रिम रूपमा होटल बुकिङ गर्ने चलनसमेत बढेको उनले बताए।

नवलपुरबाट घुम्न आएका पर्यटक आशिष पुरीले ढोरपाटनमा चिसो धेरै भए पनि यहाँको प्राकृतिक सुन्दरताले आफूहरूलाई लोभ्याएको बताए। सामाजिक सञ्जालमा देखिएका तस्बिर र भिडियोले प्रेरित भएर नौ जनाको समूह जाडो बिदामा यहाँ आएको उनको भनाइ छ। यस मौसममा ढोरपाटन आउँदा न्यानो कपडासहित तयारी गरेर आउनुपर्ने सुझाव उनले दिए।

चिसोका कारण बोबाङ, अधिकारीचौर र निसीखोला क्षेत्रका स्थानीयहरू बेँसी झरेका छन्। उनीहरू चैत लागेपछि मात्रै पुनः ढोरपाटन फर्कने गर्छन्। अघिल्ला वर्षमा हिउँद याममा फुर्सदिला रहने व्यवसायीहरू अहिले भने पर्यटकको चापले व्यस्त देखिन्छन्। पाँच वर्षअघिसम्म होटल व्यवसाय सीमित रहेको ढोरपाटन उपत्यकामा अहिले करिब ४० हाराहारी होटल सञ्चालनमा आएका छन्।

साताकाे चर्चित
सम्बन्धित