काठमाडौं ।
आज देशभर २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस विभिन्न सचेतनामूलक कार्यक्रमसहित मनाइँदैछ। भूकम्पको जोखिमबारे जनचेतना फैलाउने र पूर्वतयारीलाई प्रभावकारी बनाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइने गरिएको छ।
यस वर्षको मुख्य कार्यक्रम काठमाडौंको खुलामञ्चमा आयोजना गरिएको छ। सो अवसरमा भूकम्प सुरक्षासम्बन्धी प्रदर्शनी, जानकारीमूलक सामग्री र अभ्यास कार्यक्रम सञ्चालन हुँदैछन्। साथै, आज दिउँसो ठीक २ बजेर २४ मिनेटमा सञ्चार माध्यममा एकैसाथ बज्ने धुनसँगै एक मिनेटको राष्ट्रिय भूकम्पीय सुरक्षा अभ्यासमा सहभागी भएर पनि दिवस मनाइँदैछ।
वि.सं. १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा २०५५ सालदेखि राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो। सो दिन दिउँसो २:२४ बजे गएको ८.४ म्याग्निच्युडको भूकम्पले देशभर ठूलो जनधनको क्षति पुर्याएको थियो।
१९९० सालको भूकम्पमा ८ हजार ८१९ जनाको ज्यान गएको थियो भने करिब ८० हजार घर पूर्ण रूपमा ध्वस्त भएका थिए। घर, विद्यालय, मठमन्दिर, पाटीपौवा र अन्य सार्वजनिक संरचनासमेत गरी २ लाखभन्दा बढी भवनमा क्षति पुगेको थियो।
त्यसैगरी, २०७२ साल वैशाख १२ गते गएको गोरखा भूकम्पमा ८ हजार ६७० जनाको मृत्यु भएको थियो भने ७ लाखभन्दा बढी आवासमा आंशिक तथा पूर्ण क्षति पुगेको थियो।
नेपाल भूकम्पीय जोखिममा रहेको मुलुक भएकाले सुरक्षित निर्माण, पूर्वतयारी र सही जानकारीमार्फत क्षति न्यूनीकरण गर्न सकिने भन्दै राष्ट्रिय भूकम्प सुरक्षा दिवसमार्फत नागरिकलाई सचेत गराउने प्रयास हुँदै आएको छ।