कांग्रेसको नेतृत्व विवाद निर्वाचन आयोगमा प्रवेश
कांग्रेसको नेतृत्व विवाद निर्वाचन आयोगमा प्रवेश
    • बेल संचार

    • २ माघ २०८२, शुक्रबार

काठमाडौं ।

नेपाली कांग्रेसभित्र जारी नेतृत्व र महाधिवेशनसम्बन्धी विवाद निर्वाचन आयोगसम्म पुगेको छ। नियमित महाधिवेशनको पक्षमा रहेका नेताहरू आज निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहने दाबी गर्दै आवश्यक कागजात बुझाएका छन्।

शेरबहादुर देउवा समूहका तर्फबाट कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित उपसभापति धनराज गुरुङ, नेता डा. शशांक कोइराला, मिन विश्वकर्मा र नैनसिंह महरलगायतका नेताहरू निर्वाचन आयोगमा उपस्थित थिए। उनीहरूले पार्टी विधानअनुसार आफूहरू नै वैध केन्द्रीय नेतृत्व भएको दाबी गरेका छन्।

यसअघि बिहीबार गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा निवेदन दर्ता गराएको थियो। उक्त समूहले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको भन्दै नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न माग गरेको छ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका नेताहरूलाई पार्टी कारबाही गरेको थियो। त्यसपछि दुवै समूहले पार्टीको आधिकारिकताबारे आ–आफ्नो दाबी गर्दै निर्वाचन आयोगमा पत्र र कागजात बुझाएका हुन्।

निर्वाचन आयोगले दुवै पक्षबाट पेश गरिएका कागजातको अध्ययन सुरु गरिसकेको जनाएको छ। यसैबीच आयोग परिसरमा कांग्रेस नेता तथा कार्यकर्ताको आवतजावत बढेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।

साताकाे चर्चित
सम्बन्धित