काठमाडौँ ।
नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर देखिएको विवाद थप गहिरिएको छ। सभापति शेरबहादुर देउवा पक्षधर समूहले विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरेका ८८५ जनाले आफ्नो हस्ताक्षर फिर्ता लिएको दाबी गर्दै त्यससम्बन्धी प्रमाण निर्वाचन आयोगमा बुझाएको छ।
शुक्रबार बिहान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस नेताहरूको टोली निर्वाचन आयोग पुगेको थियो। टोलीले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसमक्ष हस्ताक्षर फिर्तासम्बन्धी निवेदन तथा कागजात पेश गरेको जनाएको छ।
देउवा पक्षका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा गरिएको विशेष महाधिवेशन विधानअनुसार नभएको दाबी गर्दै आएका छन्। विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन गरिएको भए पनि त्यसको वैधानिकता प्रश्नमा रहेको उनीहरूको भनाइ छ।
कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनका लागि आवश्यक प्रतिनिधि समर्थन नपुगेको पुष्टि गर्न हस्ताक्षर फिर्ताका प्रमाण निर्वाचन आयोगमा बुझाइएको जानकारी दिए। उनका अनुसार विशेष महाधिवेशन विधानसम्मत नभएको देखाउन यो प्रमाण महत्वपूर्ण रहेको छ।
निर्वाचन आयोगले कांग्रेसका दुवै पक्षबाट बुझाइएका कागजातको अध्ययन गरिरहेको जनाएको छ।