वीरगन्ज ।
आउँदो प्रतिनिधिसभा निर्वाचनमा पर्सा क्षेत्र नम्बर १ का लागि जनता समाजवादी पार्टी (जसपा) नेपाललाई उम्मेदवार छनोट गर्न चुनौती देखिएको छ। जिल्लास्तरबाट उम्मेदवार सिफारिस भइसके पनि निवर्तमान सांसद प्रदीप यादवको नाम सूचीमा नपर्दा पार्टीभित्र मतभेद सतहमा आएको हो।
जसपा नेपालको पर्सा जिल्ला कार्यसमितिले पूर्वमुख्यमन्त्री लालबाबु राउत, जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव र मधेस प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवको नाम उम्मेदवारीका लागि केन्द्रमा सिफारिस गरेको छ। तर २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री प्रदीप यादव भने उक्त सूचीमा समेटिएका छैनन्।
यसअघि पार्टी विभाजनका बेला प्रदीप यादव अशोक राई नेतृत्वको जसपामा सहभागी भएका थिए। निर्वाचन नजिकिँदै गर्दा उनी पुनः जसपा नेपालमा फर्किएका हुन्। यद्यपि जिल्लाबाट उनको नाम सिफारिस नभए पनि आफू नै पर्सा–१ को उम्मेदवार बन्ने उनले दाबी गरेका छन्।
पूर्वमन्त्री यादवका अनुसार पार्टी एकीकरणपछि उम्मेदवार चयनको जिम्मा केन्द्रीय समन्वय समितिलाई दिइएको छ। उनका भनाइमा, एकीकरणअघिका सिफारिसहरू अन्तिम नभई केन्द्रले आवश्यक मूल्यांकनपछि उम्मेदवार टुंगो लगाउनेछ। अघिल्ला निर्वाचनमा आफूले लगातार जित हासिल गरेको उल्लेख गर्दै उनले पार्टीले अनुभवी र जित्ने सम्भावना भएका उम्मेदवारलाई पन्छ्याउने छैन भन्ने विश्वास व्यक्त गरे।
उनले पार्टीभित्र उम्मेदवारीको प्रतिस्पर्धा सामान्य प्रक्रिया भएको भन्दै आन्तरिक छलफलमार्फत समस्या समाधान हुने दाबी गरे।
तर जसपा नेपाल पर्साका जिल्ला अध्यक्ष रामनरेश यादव भने जिल्लाबाट सिफारिस गरिएका तीन जनामध्येबाटै उम्मेदवार बन्नुपर्ने अडानमा छन्। पार्टी एकतासम्बन्धी औपचारिक जानकारी जिल्लालाई नआएको बताउँदै उनले केन्द्रले जिल्लाको निर्णयविपरीत उम्मेदवार चयन गरेमा त्यसको विरोध हुने चेतावनी दिए।
पर्सा–१ मा उम्मेदवारको टुंगो नलाग्दा जसपा नेपालभित्रको आन्तरिक समन्वय र निर्णय प्रक्रियामाथि चासो बढ्दै गएको छ।