काठमाडौँ ।
फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवार छनोट गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ। बैठक शनिबार दिउँसो १ बजे बस्ने तय भएको छ।
पार्टीको प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठकमा निर्वाचनका उम्मेदवारबारे अन्तिम निर्णय लिने तयारी गरिएको हो। निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन हुने भएकाले एमालेले त्यसअघि नै नाम टुंग्याउन लागेको हो।
यसअघि एमालेका निर्वाचन क्षेत्रीय समन्वय समिति, जिल्ला समिति र प्रदेश समितिहरूले उम्मेदवारका नाम केन्द्रमा सिफारिस गरिसकेका छन्। ती सिफारिसका आधारमा अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अगाडि आएको बताइएको छ।
हालसम्म कुनै पनि दलसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवार चुनावी मैदानमा उतार्ने जनाएको छ। पार्टीले सूर्य चिन्ह लिएर उम्मेदवारी दिने तयारी गरेको छ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार छनोटको जिम्मेवारी सचिवालयलाई दिएको थियो। सोही निर्णयअनुसार सचिवालय बैठकमार्फत उम्मेदवार टुंग्याइने एमालेले जनाएको छ।