काठमाडौं ।
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्। पार्टीमा विकसित पछिल्लो घटनाक्रम र आन्तरिक निर्णयपछि उनी निर्वाचनमा सहभागी नहुने निर्णयमा पुगेका हुन्।
निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट सिफारिसमा परेका थिए। उनका निकट स्रोतले चुनाव नलड्ने कुरा पुष्टि गरेका छन्।
उनका अनुसार, ‘पूर्ण दाइ चुनाव लड्दैनन्। तर देशभर चुनाव प्रचार–प्रसारमा लाग्ने छन् र पार्टीलाई जिताउन काम गर्नेछन्।’
साथै, खड्काले सर्वोच्च अदालतमा परेको मुद्दाको निर्णय जे भए पनि कांग्रेसलाई एकढिक्का राख्न आफू सक्रिय रहने बताएका छन्। अदालतको निर्णय गगन थापा पक्षमा आए पनि वा संस्थापन पक्षमा आए पनि सबैलाई मिलाएर पार्टीलाई एकत्रित राख्ने योजना उनले अघि सारेका छन्।