झापा–५ मा ओली–बालेन भिडन्तले तात्यो चुनावी माहोल
झापा–५ मा ओली–बालेन भिडन्तले तात्यो चुनावी माहोल
    • सचिन चौधरी

    • ५ माघ २०८२, सोमबार

काठमाडौं ।

२०४८ सालदेखि निरन्तर चुनाव लड्दै आएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ मा यसपटक चुनावी माहोल निकै तातिएको छ। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन) यही क्षेत्रबाट उम्मेदवार बन्ने भएपछि प्रतिस्पर्धा रोचक बनेको हो।

अघिल्ला निर्वाचनमा सहज जित हासिल गर्दै आएका पूर्वप्रधानमन्त्री ओलीका लागि बालेनको आगमनले नयाँ चुनौती थपिएको स्थानीय मतदाताको बुझाइ छ। विशेषगरी युवा मतदातामा उत्साह देखिएको छ भने पुराना कार्यकर्तामाझ मिश्रित प्रतिक्रिया सुनिन थालेको छ।

एमालेभित्रको आन्तरिक असन्तुष्टि पनि ओलीका लागि अर्को चुनौती बनेको देखिन्छ। लामो समयदेखि पार्टीका लागि काम गरेका केही कार्यकर्ता यसपटक निर्णय बदलिन सक्ने संकेत गरिरहेका छन्। स्थानीय तहमा ‘अब नयाँ पुस्तालाई अवसर दिनुपर्छ’ भन्ने आवाज बलियो बन्दै गएको छ।

यता, कतिपय मतदाताले ओलीको अनुभव र विगतका कामलाई आधार मानेर समर्थन जनाइरहेका छन् भने केहीले बालेनलाई परिवर्तनको प्रतीकका रूपमा हेरेका छन्। पहिलो पटक मतदान गर्न लागेका युवाहरू बालेनप्रति आकर्षित देखिन्छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार झापा–५ मा यसपटकको निर्वाचन अघिल्ला चुनावभन्दा निकै प्रतिस्पर्धात्मक हुनेछ। ओलीसँग स्थानीय पकड र अनुभव छ भने बालेनसँग युवा ऊर्जा र परिवर्तनको एजेन्डा छ।

२०७९ सालको निर्वाचनमा ओलीले झापा–५ बाट ५२ हजारभन्दा बढी मत ल्याएर जित हासिल गरेका थिए। यसपटक भने नयाँ मतदाता थपिएकाले नतिजा कसको पक्षमा जाने भन्ने खुलेको छैन। विश्लेषकहरू हार–जित सानो मतान्तरले टुंगिन सक्ने अनुमान गर्छन्।

साताकाे चर्चित
सम्बन्धित