मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
    • बेल संचार

    • ५ माघ २०८२, सोमबार

पोखरा ।

मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियान’का संयोजक दुर्गा प्रसाईंलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

निर्वाचन बहिष्कारदेखि सरकार र निर्वाचन आयोगविरुद्ध गम्भीर आरोप लगाउँदै आएका प्रसाईंमाथि सरकारी प्रणाली ह्याक गर्ने र संवेदनशील डाटा चोरी गर्ने योजना बनाएको आरोप लागेको छ। यस सम्बन्धी अडियो सार्वजनिक भएपछि निर्वाचन आयोगले अनुसन्धानका लागि प्रहरीलाई पत्राचार गरेको थियो।

प्रसाईंले कांग्रेसको विशेष महाधिवेशन पक्षले निर्वाचन आयोगलाई ५२ करोड रुपैयाँ बुझाएर नतिजा आफ्नो पक्षमा पारेको दाबी गर्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिसँगै सरकारी वेबसाइट ह्याक गर्न रकम लगानी गरिएको योजनाबारेको अडियो पनि बाहिर आएको थियो।

सोमबार पोखरामा कार्यक्रमका लागि पुगेका प्रसाईंलाई आयोगको अनुरोधअनुसार कास्की प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई आवश्यक अनुसन्धानका लागि काठमाडौं पठाउने तयारी भइरहेको कास्की प्रहरीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिएका छन्।

पछिल्लो समय प्रसाईं चुनाव बहिष्कार अभियान र राजसंस्था पुनःस्थापनाको मागसहित विभिन्न आन्दोलनमा सक्रिय थिए। यसअघि पनि उनी तिनकुने घटनालगायत विभिन्न प्रकरणमा पक्राउ परेर छुट्दै आएका थिए।

सरकारसँग माघ २ गते मात्र प्रसाईं नेतृत्वको अभियानबीच १२ बुँदे सहमति भएको थियो। सहमतिमा आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाउने, संवैधानिक सुधारका विषयमा अध्ययन गर्न आयोग गठन गर्ने तथा सहकारी पीडितलाई राहत दिने विषय समेटिएका थिए।

तर पछिल्लो समय सार्वजनिक भएका अडियो र अभिव्यक्तिपछि प्रसाईं पुनः कानुनी दायरामा तानिएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित