महिला सम्बन्धी काम गर्ने संघ संस्थाहरुमा अपाङ्गता भएका महिलाहरुको सहभागिता र प्रतिनिधित्व सम्बन्धि कार्यशाला काठमाडौमा सम्पन्न
महिला सम्बन्धी काम गर्ने संघ संस्थाहरुमा अपाङ्गता भएका महिलाहरुको सहभागिता र प्रतिनिधित्व सम्बन्धि कार्यशाला काठमाडौमा सम्पन्न
    • शर्मिला विश्वकर्मा

    • ६ माघ २०८२, मंगलवार

 काठमाडौं

नेत्रहिन महिला संघ नेपालको आयोजना, एक्सेस प्लानेट, राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपाल, अपाङ्गता भएका महिलाहरुको महासंघ नेपाल, दलित महिला संघ, पहिचान नेपाल र दलित अपाङ्गता भएका व्यक्तिहरुको संघ सहितको (Consortium ) संयुक्त साझेदारीमा र Disability Rights Fund को आर्थिक सहयोगमा माघ ५ गते महिला सम्बन्धी काम गर्ने संघ संस्थाहरुमा अपाङ्गता भएका महिलाहरुको सहभागिता र प्रतिनिधित्व सुदृढीकरण तथा अध्ययन कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका प्रवक्ता रमेश पोखरेलले अपाङ्गता सम्बन्धि काम गर्ने संघ संस्थाहरुमा अपाङ्गता भएका महिलाहरुको अर्थपूर्ण सहभागिता र प्रतिनिधत्वको विषयमा गरिएको यस अध्ययन ज्यादै महत्वपूर्ण र उपलब्धी मुलक रहेको भन्दै यस विषयमा वकालत तथा पैरवी गर्नु पर्ने आवश्यकता रहेको बताउनु भयो ।

यसै क्रममा (Consortium ) संयुक्त साझेदार संस्था अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालकी महासचिव रमा ढकालले सबै सहभागीहरुलाई स्वागत गर्दै यो अपाङ्गता भएका महिलाहरुको क्षेत्रमा काम गर्ने यो ७ वटा संस्था (Consortium ) संयुक्त साझेदार संस्था मिलेर महिलाका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरु मध्ये ३० वटा संस्थाहरुमा अपाङ्गता भएका महिलाहरुको अर्थपूर्ण सहभागिता तथा प्रतिनिधित्व के कस्तो रहेको छ भन्ने विषयमा अध्यन अनुसन्धान गरिएको बताउनु भयो । साथै उहाँले अझै पनि महिलाहरुका लागि काम गर्ने संघ संस्थाहरुमा अपाङ्गता भएका महिलाहरुको न्यून सहभागिता रहेको, समावेशीताका कुरा गरिएता पनि अर्थपूर्ण सहभागिता नभएको गुनासो गर्दै यो अध्ययन प्रतिवेदनलाई अपाङ्गता भएका महिलाहरुको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु मार्फत अगाडी बढाउने र उनीहरुका हरेक सवालहरुका विषयमा वकालत तथा पैरवी गर्ने कुरामा जोड दिनु भयो । यस कार्यशालामा अपाङ्गता समावेशी विज्ञ कृष्ण गहतराजले नेपालका राष्ट्रिय स्तरका मूलधारका महिला तथा महिलाबादी संघ संस्थाहरुमा अपाङ्गता भएका महिलाहरु / किशोरीहरुको सहभागिता तथा प्रतिनिधित्व सम्बन्धी गरिएको अध्ययन प्रतिवेदनलाई प्रस्तुतीकरण गर्नु भयो । यस प्रस्तुतीकरणका क्रममा उहाँले Disability Rights Fund ले नेपालमा अपाङ्गता भएका व्यक्ति तथा महिलाहरुको विभिन्न विषयहरुमा अपाङ्गताको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी काम गर्दै आएको भन्दै महिलाहरुको क्षेत्रमा काम गर्ने ३० वटा संघ संस्थाहरुसँग अन्तर्वार्ताका विभिन्न विधिहरु अपनाएर यो अध्ययन प्रतिवेदन तयार पारिएको र यस प्रतिवेदनमा २४ वटा संस्थाहरु मात्रै आवध भएको र ती संस्थाहरुमा अपाङ्गता भएका महिलाहरुका सवालहरुलाई कसरी समावेश गरिएको छ, उनीहरुको प्रतिनिधित्व तथा सहभागिताको अवस्था, साङ्गठानिक संरचनामा उनीहरुको स्थान कहाँ छ भन्ने कुराको पनि अध्ययन गरिएको बताउनु भयो । साथै उहाँले नेपालमा अपाङ्गता भएका महिला / किशोरीहरुको अवस्थाको बारेमा बताउदै अपाङ्गता भएका महिलाहरुको अन्तरविवधताका आधारमा सही तथ्याङ्क नभएको, अन्य महिलाहरुको तुलनामा अपाङ्गता भएका महिलाहरुले विभिन्न अवरोध र चुनौतीको सामना गर्न परेको जसको कारण ती संस्थाहरुमा अर्थपूर्ण सहभागिता र प्रतिनिधित्व नभएको बताउनु भयो ।

साथै उहाँले उक्त अध्ययन गुणात्मक र संख्यात्मक दुबै अनुसन्धानको विधिको प्रयोग गरेर गरिएको कुरा प्रष्ट पार्नु भएको थियो । यस कार्यशालामा राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महिला संघ नेपालकी अध्यक्ष प्रतिमा गुरुङ्गले यो अध्ययनलाई अपाङ्गता भएका महिलाहरुको उपलब्धी मुलक सामग्रीका रुपमा लिन सकिने भन्दै परियोजनाका लागि मात्रै नभएर अपाङ्गता भएका महिलाहरुको एजेण्डाका रुपमा लिनु पर्ने बताउनु भयो । यस अध्ययन प्रतिवेदनलाई अगाडी बढाउनका लागि मुख्य निष्कर्ष र चित्र मार्फत बुझाउने समाग्रीका रुपमा लिन सकिने र यसलाई अगाडी बढाउन ७ वटै (Consortium ) साझेदार संस्थाहरु मिलेर काम गर्ने कुरामा जोड दिनु भयो । यसै क्रममा (Consortium ) साझेदार संस्था मध्येको आयोजक संस्था नेत्रहिन महिला संघ नेपालकी संस्थापक अध्यक्ष एवं महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी उपसचिव निरा अधिकारीले यस अध्ययन प्रतिवेदनलाई किताबको रुपमा ल्याउने सरकारी निकायका प्रतिनिधिहरुको उपस्थितिमा र यो २४ वटै संस्थाहरुको सहभागितामा मार्च ८ मा मनाइने अन्तराष्ट्रिय महिला दिवसका अवसरमा यसको विमोचन गरिने बताउदै यस अध्ययन प्रतिवेदन अपाङ्गताको क्षेत्रमा विषेश गरी अपाङ्गता भएका महिलाहरुको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुका लागि श्रोतका रुपमा प्रयोग गर्न सकिने र महिलाहरुका लागि काम गर्ने विभिन्न संघ संस्थाहरुलाई अपाङ्गता भएका महिलाहरुका सवाल समावेश गर्न सहज हुने कुरामा जोड दिनु भयो । त्यसै गरी अधिवक्ता तथा अपाङ्गता अधिकारकर्मी राजु बस्नेतले यस अध्ययनले गरेका सिफारिसहरुलाई कार्यन्वयन गर्नका लागि अपाङ्गताको क्षेत्रमा काम गर्ने सबै संघ संस्थाहरु तथा अन्य संघ संस्थाहरुको साथ सहयोग आवश्यक रहेको भन्दै अपाङ्गता भएका महिलाहरुको नेतृत्व तथा क्षमता विकासका लागि काम गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले यो अध्ययन प्रतिवेदनलाई सबै निकायहरुमा पुर्याउन र यसलाई श्रोतका रुपमा प्रयोग गर्नका लागि सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो ।

कार्यक्रममा महिलाहरुका लागि काम गर्ने विभिन्न संघ संस्थाहरु मध्ये अध्ययन अनुसन्धानका लागि लिएका उपस्थित संस्था अन्तरपुस्ता महिलावादी मञ्च (IGFF), संङ्कल्प, CWAD, ल्याक, परपल (Purple) फाउण्डेशन लगायतका संस्थाका प्रतिनिधहरुले आफ्नो संस्थामा अपाङ्गता भएका महिलाहरुको अर्थपूर्ण सहभागिता र प्रतिनिधित्वका साथै अपाङ्गताको विविधता अनुसारको अपाङ्गता मैत्री संरचना निर्माणका लागि पहल गर्ने कुरा बताउनु भएको थियो ।

साताकाे चर्चित
सम्बन्धित