काठमाडौं ।
नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वमा परिवर्तन भएपछि सुदूरपश्चिम प्रदेशमा टिकट बाँडफाँडको समीकरण फेरिएको छ। निवर्तमान सभापति शेरबहादुर देउवापक्ष यसपटक सीमित हुँदै पाँच निर्वाचन क्षेत्रमा मात्र समेटिएको छ।
सुदूरपश्चिमका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये देउवानिकट नेतामध्ये एनपी साउद, नैनसिंह महर, पुष्पबहादुर शाह, नरनारायण शाह र गोरखबहादुर विष्टले मात्रै प्रत्यक्ष उम्मेदवारीको अवसर पाएका छन्।
पूर्वगृहमन्त्री रमेश लेखक कञ्चनपुर–३ बाट आकांक्षी रहे पनि यसपटक टिकट पाउन सकेनन्। अन्तिम चरणमा सभापति गगन थापानिकट मानिने कांग्रेस कञ्चनपुरका पूर्वसभापति हरिप्रसाद बोहराले उम्मेदवारी प्राप्त गरेका छन्।
कैलाली–४ मा पार्टीको संसदीय बोर्डले प्रदेश सभापति वीरबहादुर बलायरलाई टिकट दिएको थियो। तर उनले चुनाव नलड्ने निर्णय गरेपछि देउवानिकट गोरखबहादुर विष्टलाई उम्मेदवार बनाइएको हो।
त्यसैगरी, कैलाली–५ मा निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नाम सिफारिस भए पनि अन्ततः प्रदेश महामन्त्री नरनारायण शाहले टिकट पाएका छन्।
डडेल्धुराबाट शेरबहादुर देउवाले उम्मेदवार नबन्ने घोषणा गरेपछि निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महर उम्मेदवार बनेका छन्।
समग्रमा सुदूरपश्चिमका १६ मध्ये ११ निर्वाचन क्षेत्रमा सभापति गगन थापानिकट समूहले टिकट सुरक्षित गरेको देखिन्छ।
बाजुरा – जनकराज गिरी
अछाम–१ – भरतकुमार स्वार
अछाम–२ – पुष्पबहादुर शाह
डोटी – भरतबहादुर खड्का
बैतडी – चतुरबहादुर चन्द
दार्चुला – धर्मानन्द जोशी
बझाङ – प्रकाश रसाइली ‘स्नेही’
डडेल्धुरा – नैनसिंह महर
कैलाली–१ – जनकराज चौधरी
कैलाली–२ – विजयबहादुर स्वार
कैलाली–३ – भीम बडुवाल
कैलाली–४ – गोरखबहादुर विष्ट
कैलाली–५ – नरनारायण शाह
कञ्चनपुर–१ – गोपीप्रसाद उपाध्याय
कञ्चनपुर–२ – एनपी साउद
कञ्चनपुर–३ – हरिप्रसाद बोहरा