योग अभ्यास जीवनशैलीमा उतार्नुपर्ने आवश्यकता : नि.महानिर्देशक डा. यादव
योग अभ्यास जीवनशैलीमा उतार्नुपर्ने आवश्यकता : नि.महानिर्देशक डा. यादव
    • बेल संचार

    • ७ माघ २०८२, बुधबार

काठमाडौँ ।

योग केवल शारीरिक व्यायाममा सीमित अभ्यास नभई स्वस्थ, सन्तुलित र सकारात्मक जीवनशैलीको आधार भएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, टेकुका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवले बताएका छन् ।

‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग’ भन्ने मूल नारासहित आगामी २०८२ साल माघ १ गते देशभर एघारौँ राष्ट्रिय योग दिवस मनाइने तयारी भइरहेका बेला डा. यादवले योगको महत्वबारे धारणा व्यक्त गर्नुभएको हो ।

नेपाल सरकारले प्रत्येक वर्ष माघ १ गतेलाई राष्ट्रिय योग दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार यस वर्ष पनि संघीय, प्रदेश र स्थानीय तहमा विभिन्न चेतनामूलक तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

कार्यक्रममा बोल्दै डा. यादवले भन्नुभयो, “वर्तमान समयमा नसर्ने रोग, मानसिक तनाव र जीवनशैलीसँग जोडिएका स्वास्थ्य समस्याहरू बढ्दै गएका छन् । यस्तो अवस्थामा योगलाई दैनिक जीवनको अनिवार्य अभ्यासका रूपमा अपनाउनु अत्यावश्यक भइसकेको छ । योगले शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक सन्तुलन र सकारात्मक सोचको विकासमा समेत महत्वपूर्ण भूमिका खेल्छ ।”

उहाँका अनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले योग सेवालाई आधारभूत स्वास्थ्य सेवाको अभिन्न अङ्ग का रूपमा विस्तार गर्दै आएको छ ।

यस्तै, कार्यक्रममा आयुर्वेद तथा योग विशेषज्ञ डा. पुनेश्वर केशरीले योगको व्यवहारिक र उपचारात्मक पक्षबारे प्रकाश पार्नुभयो । उहाँले भन्नुभयो, “भागदौडयुक्त आधुनिक जीवनशैलीका कारण मानिसहरू तनाव, चिन्ता र जीवनशैलीजन्य रोगको जोखिममा छन् । योगले शरीर, मन र आत्माबीच सन्तुलन कायम गर्दै रोगको मूल कारणमै काम गर्छ । नियमित योग अभ्यासले औषधिमाथिको निर्भरता घटाउँदै आत्मनिर्भर स्वास्थ्यतर्फ नागरिकलाई उन्मुख गराउँछ ।”

संविधान २०७२ ले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गरेअनुसार आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमार्फत योग सेवालाई पनि आधारभूत स्वास्थ्य सेवामा समेटिएको छ । हाल देशभरका आयुर्वेद स्वास्थ्य संस्थाहरूबाट प्रवर्द्धनात्मक तथा उपचारात्मक (थेराप्युटिक) योग सेवा नियमित रूपमा सञ्चालन हुँदै आएका छन् ।

आर्थिक वर्ष २०८१/८२ मा मात्रै देशभरका आयुर्वेद स्वास्थ्य संस्थाबाट २१ लाख ९० हजारभन्दा बढी नागरिकले योग सेवा लिएको तथ्याङ्कले योगप्रतिको बढ्दो जनविश्वास पुष्टि गरेको छ ।

योगलाई आम नागरिकको जीवनशैलीमा समावेश गर्ने उद्देश्यले विद्यालय आयुर्वेद तथा योग कार्यक्रम र देशभरका ७५३ वटै स्थानीय तहमा सञ्चालनमा रहेका नागरिक आरोग्य सेवा केन्द्रहरू मार्फत नियमित योग सेवा प्रवाह भइरहेको विभागले जनाएको छ ।

यसले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म योगको पहुँच विस्तार गर्दै स्वस्थ समाज निर्माणमा उल्लेखनीय योगदान पुर्‍याइरहेको सरोकारवालाहरूले बताएका छन् ।

साताकाे चर्चित
सम्बन्धित