काठमाडौँ ।
सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगको कार्यकाल थप २० दिन लम्ब्याएको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद दोस्रोपटक थप्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए।
यसअघि पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले आयोगको म्याद एक महिनाले थप गरेको थियो। सुरुमा तीन महिनाका लागि गठन गरिएको आयोगले तोकिएको समयमै प्रतिवेदन बुझाउन नसकेपछि म्याद थपिँदै आएको हो।
गत असोज ५ गते जेनजी आन्दोलनका क्रममा भएको बलप्रयोग, हिंसा र मृत्युका घटनाको छानबिनका लागि तीन सदस्यीय आयोग गठन गरिएको थियो। आयोगमा नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ७४ जनाको मृत्यु भएको थियो।