वसन्त पञ्चमी : सरस्वती पूजा, अक्षरारम्भ र मिथिलामा कृषि नववर्ष
वसन्त पञ्चमी : सरस्वती पूजा, अक्षरारम्भ र मिथिलामा कृषि नववर्ष
    • बेल संचार

    • ९ माघ २०८२, शुक्रबार

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा–आराधना गरे विद्या, बुद्धि र सृजनशीलता वृद्धि हुने धार्मिक विश्वास छ । यही विश्वासअनुसार आज देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ ।

आजकै दिन विद्यालय नपुगेका साना बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा रहेको छ । लेखपढको सुरुआत आज गराए राम्रो विद्या प्राप्त हुने विश्वास गरिन्छ ।

चन्द्रमाजस्तो गोरो वर्ण, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, बुद्धिदात्री, ब्रह्मचारिणी लगायत विभिन्न नामले पुकार्ने गर्छन् ।

विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आफ्ना कलासाधनाका सामग्री—कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतीक मानेर पूजा गर्ने परम्परा छ । तान्त्रिक साधकहरूले भने सरस्वतीलाई तारादेवीका रूपमा आराधना गर्ने गर्छन् ।

सूर्य उत्तरायण लाग्ने, दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण यस पर्वलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । धार्मिक ग्रन्थहरूमा आजको दिन सरस्वतीको पूजा र विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख छ ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता संस्कार गर्न साइत नहेर्नुपर्ने मान्यता रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकार्य नगरिने जनाइएको छ ।

उपत्यकाका स्वयम्भू, मैतीदेवी, नीलसरस्वती, लेलेलगायत देशभरका सरस्वती मन्दिरमा विशेषगरी विद्यार्थीहरूको उल्लेख्य उपस्थिति देखिएको छ । सरस्वतीलाई चढाइएको अक्षता दाँतले नछोई निले विद्या र बुद्धि प्राप्त हुने जनविश्वास छ ।

वसन्त श्रवणको परम्परा

वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने परम्परा अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा वसन्त श्रवण गर्ने कार्यक्रम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहनेछ ।

मिथिलामा कृषि नववर्ष

यसैबीच, मिथिला क्षेत्रमा श्रीपञ्चमीलाई कृषि नववर्षका रूपमा मनाइने परम्परा अनुसार उत्सवको तयारी गरिएको छ । यस दिनदेखि वसन्त ऋतु सुरू हुने र आगामी खेतीका लागि बीउ छनोट, सुकाउने तथा भण्डारण गर्ने परम्परा रहेको स्थानीय किसानहरू बताउँछन् ।

मिथिला संस्कृतिमा श्रीपञ्चमी कृषि जीवनसँग गहिरो रूपमा जोडिएको पर्वका रूपमा मनाइन्छ ।

साताकाे चर्चित
सम्बन्धित