वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा–आराधना गरे विद्या, बुद्धि र सृजनशीलता वृद्धि हुने धार्मिक विश्वास छ । यही विश्वासअनुसार आज देशभरका सरस्वती मन्दिरहरूमा बिहानैदेखि श्रद्धालुहरूको भीड लागेको छ ।
आजकै दिन विद्यालय नपुगेका साना बालबालिकालाई अक्षरारम्भ गराउने परम्परा रहेको छ । लेखपढको सुरुआत आज गराए राम्रो विद्या प्राप्त हुने विश्वास गरिन्छ ।
चन्द्रमाजस्तो गोरो वर्ण, हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, वागीश्वरी, बुद्धिदात्री, ब्रह्मचारिणी लगायत विभिन्न नामले पुकार्ने गर्छन् ।
विद्या र सृजनाकी देवी भएकाले साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थीले आफ्ना कलासाधनाका सामग्री—कलम, कापी, कुची, वाद्ययन्त्र आदिलाई सरस्वतीको प्रतीक मानेर पूजा गर्ने परम्परा छ । तान्त्रिक साधकहरूले भने सरस्वतीलाई तारादेवीका रूपमा आराधना गर्ने गर्छन् ।
सूर्य उत्तरायण लाग्ने, दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका कारण यस पर्वलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । धार्मिक ग्रन्थहरूमा आजको दिन सरस्वतीको पूजा र विद्यारम्भ गरे सर्वसिद्धि प्राप्त हुने उल्लेख छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता संस्कार गर्न साइत नहेर्नुपर्ने मान्यता रहे पनि यस वर्ष शुक्र अस्त भएकाले यस्ता शुभकार्य नगरिने जनाइएको छ ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी, नीलसरस्वती, लेलेलगायत देशभरका सरस्वती मन्दिरमा विशेषगरी विद्यार्थीहरूको उल्लेख्य उपस्थिति देखिएको छ । सरस्वतीलाई चढाइएको अक्षता दाँतले नछोई निले विद्या र बुद्धि प्राप्त हुने जनविश्वास छ ।
वसन्त पञ्चमीका अवसरमा हनुमानढोका दरबारको नासल चोकमा राष्ट्राध्यक्षले वसन्त श्रवण गर्ने परम्परा अनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा वसन्त श्रवण गर्ने कार्यक्रम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री तथा उच्च पदस्थ व्यक्तिहरूको सहभागिता रहनेछ ।
यसैबीच, मिथिला क्षेत्रमा श्रीपञ्चमीलाई कृषि नववर्षका रूपमा मनाइने परम्परा अनुसार उत्सवको तयारी गरिएको छ । यस दिनदेखि वसन्त ऋतु सुरू हुने र आगामी खेतीका लागि बीउ छनोट, सुकाउने तथा भण्डारण गर्ने परम्परा रहेको स्थानीय किसानहरू बताउँछन् ।
मिथिला संस्कृतिमा श्रीपञ्चमी कृषि जीवनसँग गहिरो रूपमा जोडिएको पर्वका रूपमा मनाइन्छ ।