काठमाडौं ।
पत्रकार तथा गीतकार गीता अधिकारीले आफ्नो जन्मदिनको अवसर पारेर गीति एल्बम ‘भावस्पन्दन’ श्रोता/दर्शकमाझ ल्याउनुभएको छ। मिलापको आयोजनामा बिहीबार काठमाडौंमा आयोजित विशेष समारोहबीच महाकाव्यकार खेमनाथ दाहालको सभापतित्वमा एल्बमको लोकार्पण गरिएको हो।
कार्यक्रममा गीतकार तथा साहित्यकार अमर वान्तु प्रमुख अतिथि रहनुभएको थियो भने गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ कलाकार तथा गीतकार उत्तम केसी, वरिष्ठ संगीतकार राजु सिंह, एल्बमका संगीतकारहरू दीपक शर्मा र राजेन्द्र बजगाईं, गायक सविन सुवेदीलगायतले एल्बम सार्वजनिक गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण गीतकार तथा चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदीले गर्नुभएको थियो भने मिलापका सम्पादक कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभयो। उहाँले मिलाप पत्रिका १७ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको र भाषा, साहित्य, कला तथा संस्कृतिलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो।
शुभकामना मन्तव्यका क्रममा संगीतकार दीपक शर्माले गीता अधिकारीका गीतमा संगीत संयोजन गर्न पाएको अनुभव साट्नुभयो। वरिष्ठ पत्रकार तथा गीतकार डब्बु क्षेत्रीले पछिल्लो समय सृजनात्मक क्षेत्रमा देखिएको कृत्रिम बुद्धिमत्ता (AI)को प्रभावबारे चर्चा गर्नुभयो।
कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गीता अधिकारीले जन्मदिनमा कृति सार्वजनिक गर्ने परम्परा बसाल्दै आएको उल्लेख गर्दै यसअघि ‘मैले पढेका ५१ पुस्तक’ र ‘मेरा कलमका डोबहरू’ प्रकाशित गरिसकेको जानकारी दिनुभयो।
प्रमुख अतिथि अमर वान्तुले गीतकारका रूपमा गीता अधिकारीको शब्द चयन र भाव अभिव्यक्ति प्रभावशाली रहेको बताउनुभयो। एल्बमकी स्रष्टा गीता अधिकारीले सानैदेखि गीत, संगीत र साहित्यप्रति रुचि रहेको उल्लेख गर्दै आगामी दिनमा पनि जन्मदिनमै सिर्जनात्मक कृति सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सभापति खेमनाथ दाहालले गीताका कर्म र सिर्जनशीलता अनुकरणीय रहेको धारणा राख्नुभयो।
एल्बम **‘भावस्पन्दन’**मा ‘यतै घमाइलो उतै घमाइलो’, ‘बजाउँदै चुरा’, ‘तीजैमा व्रत बसी’, ‘श्वास फेरि’, ‘छम छम नाचौँ’, ‘कति सजिलै’ र ‘माटोको सुगन्ध’ गरी सात गीत समावेश छन्। गीतमा सारिका घिमिरे, योगेशकाजी, शान्तिश्री परियार, सविन सुवेदी र स्मिता प्रधानको स्वर तथा दीपक शर्मा, योगेशकाजी, राजेन्द्र बजगाईं र जीवन शर्माको संगीत रहेको छ।
लोकार्पण समारोहमा केक काटेर गीता अधिकारीको जन्मोत्सव पनि मनाइएको थियो। कार्यक्रममा गीतसंगीत, साहित्य र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।