काठमाडौँ
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापा आज पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन्। उनीसहितका पदाधिकारीले पदभार ग्रहण गरेपछि आज केन्द्रीय कार्यसमिति बैठक बस्नेछ।
बैठकले प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने बताइएको छ। पार्टी कार्यालयमा नेता–कार्यकर्ताको बाक्लो उपस्थिति रहेको छ।
गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए। बैठकपछि थापाले सर्लाही क्षेत्र नम्बर ४ मा चुनाव प्रचार सुरु गर्ने कार्यक्रम रहेको छ। अघिल्लो निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित थापा यसपटक सर्लाही ४ बाट उम्मेदवार छन्। उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए।