काठमाडौं ।
मुलुकमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा पनि युवाको विदेश पलायन रोकिएको छैन । दल र उम्मेदवारहरू गाउँ–गाउँमा भोट माग्दै हिँडिरहेका बेला हजारौँ युवा भने रोजगारी र भविष्यको खोजीमा देश छाडिरहेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता र निर्वाचन चिह्न वितरण भइसकेको छ । देशभर ३ हजार ४ सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । तर निर्वाचनको चहलपहलसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक देखिने दृश्य फरक छ—विदेशिने युवाको लाम ।
नेताहरू प्रचारप्रसारमा व्यस्त रहँदा विमानस्थलको प्रस्थान कक्षमा भने वैदेशिक रोजगारी र अध्ययनका लागि विदेश जाने युवाको भिड उस्तै देखिन्छ । गाउँमा घर भए पनि मतदाता नभएको गुनासो उम्मेदवारहरूले गरिरहेका छन् ।
विमानस्थलमा भेटिएका युवाहरू भन्छन्—मतदान अधिकार हुँदाहुँदै पनि परिस्थितिले देश छाड्न बाध्य बनायो । रोजगारी र स्थिर भविष्य नदेख्दा निर्वाचनभन्दा जीवन चलाउने बाध्यता ठूलो बनेको उनीहरूको भनाइ छ ।
पत्रकारिता र कलाकारिता गर्दै आएका विक्रम सुनार हालै रोजगारीका लागि जापान पुगेका छन् । उनका अनुसार मतदान अधिकार नागरिकको अधिकार हो, तर पेट पाल्नु बाध्यता । “विदेश जानु निर्वाचनप्रतिको असन्तुष्टि होइन, यो राजनीतिक अस्थिरताबाट जन्मिएको निराशा हो,” उनले भने ।
त्यस्तै, कतार जान लागेका कुमार राम भन्छन्—“मतदान गरेर घरको चुल्हो बल्दैन । परिवार पाल्न बिदेसिनुपर्यो ।” सपना राई र अभिषेक सुनारजस्ता धेरै युवाको पीडा पनि उस्तै छ—देशमै अवसर नपाउँदा राहदानी बोकेर हिँड्नुपरेको बाध्यता ।
वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामै ५ लाख ९० हजार ७ सय १८ नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । औसतमा प्रतिमहिना करिब ९८ हजार नेपाली विदेशिएका छन् ।
पुस महिनामा मात्रै ६२ हजारभन्दा बढी नेपालीले अन्तिम श्रम स्वीकृति लिएका छन् । साउदी अरब, कतार, यूएई, मलेसिया र कुवेत नेपाली श्रमिकका प्रमुख गन्तव्य बनेका छन् भने जापान र युरोपेली मुलुकतर्फ पनि आकर्षण बढ्दो छ ।
नेपाली ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईका अनुसार अब आउने सरकारले युवालाई देशभित्रै रोक्ने ठोस रोजगारी नीति ल्याउन नसके यो अवस्था झन् गम्भीर बन्नेछ । “घोषणापत्रमा मात्र होइन, कार्यान्वयन हुने रोजगारी योजना आवश्यक छ,” उनले भने ।
निर्वाचनको रौनक व्यापक भए पनि हरेक दिनजसो हजारौँ नेपाली श्रम र पसिना बेच्न विदेशिइरहेका छन् । विप्रेषणले अर्थतन्त्र धानिएको छ, तर निर्वाचनको मुखमा युवाको पलायनले मुलुकको भविष्यप्रति गम्भीर प्रश्न खडा गरेको छ ।