काठमाडौँ ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सुपर सिक्समा पुग्ने सम्भावना जोगाइराख्न १४१ रनको लक्ष्य पाएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २० ओभरमा १४० रनमै अलआउट भएको हो । सुरुआती ओभरमै आक्रामक बलिङ प्रस्तुत गरेको नेपालले स्कटल्यान्डलाई दबाबमा राखे पनि अन्तिम ओभरहरूमा लक्ष्य अझ चुनौतीपूर्ण बन्न पुगेको छ ।
पावरप्लेमै तीन विकेट झारेको नेपालले स्कटल्यान्डलाई ७९ रनमा ६ विकेटको स्थितिमा पुर्याएको थियो । तर, अन्तिमतिर स्कटल्यान्डका ब्याटरहरूले संयमित खेल प्रस्तुत गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्याए ।
स्कटल्यान्डका लागि प्रियानाज चटर्जीले अविजित ४५ रनको महत्वपूर्ण इनिङ खेलिन् । अलिसा लिस्टरले २२ रन बनाउँदा सराह ब्राइसले १८ र मेगान मेकलले १७ रन जोडिन् ।
नेपालतर्फ बलिङमा मनीषा उपाध्याय सर्वाधिक प्रभावशाली रहिन् । उनले ४ ओभरमा मात्र १५ रन खर्चँदै ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ३ विकेट हात पारिन् भने सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान १–१ विकेट लिए ।
सुपर सिक्समा प्रवेशका लागि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । अब सबैको नजर नेपाली ब्याटिङमा केन्द्रित भएको छ ।