काठमाडौँ ।
नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह चरणबाटै बाहिरिएको छ। सोमबारको अन्तिम खेलमा स्कटल्यान्डसँग ७२ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालले सुपर सिक्समा प्रवेश गर्ने सम्भावना गुमाएको हो।
१४१ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ९ विकेट गुमाउँदै मात्र ६८ रन बनाएको थियो। कप्तान इन्दु बर्मा चोटका कारण सातौं ओभरको चौथो बलमा मैदान छाडिन् र फर्कन सकिनन्।
नेपालका लागि बिन्दु रावल र रोमा थापा समान १४ रन बनाए भने रुबिना क्षेत्री १० रनमा सिमित रहिन्। बलिङमा मनीषा उपाध्याय ४ ओभरमा ४ विकेट, रुबिना क्षेत्री ३ विकेट, र सीता राना मगर, रिया शर्मा र कविता जोशीले समान १–१ विकेट लिए।
स्कटल्यान्डले पहिले ब्याटिङ गर्दै २० ओभरमा १४० रन बनाएको थियो। प्रियानाज चटर्जीले अविजित ४५ रन खेलिन् भने अलिसा लिस्टर २२, सराह ब्राइस १८ र मेगान मेकल १७ रनमा सीमित रहिन्।
यसअघि नेपालले थाइल्यान्ड र नेदरल्यान्ड्ससँग हार बेहोरेको थियो र जिम्बाबेलाई मात्र हराएको थियो। एक जितमा सीमित नेपाल २ अंकमा रह्यो।
आजको नतिजासँगै सुपर सिक्सका ६ टिम निश्चित भएका छन्। समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् भने समूह ‘ए’ बाट बंगलादेश, आयरल्याण्ड र अमेरिका सुपर सिक्समा प्रवेश गरे।
सुपर सिक्सको शीर्ष चार टोलीले आगामी जुनमा इंग्ल्याण्डमा हुने महिला टी–२० विश्वकपको टिकट पाउनेछ।