मेडिकल लाइसेन्स परीक्षामा ६० प्रतिशत फेल, शैक्षिक गुणस्तरमाथि प्रश्न
मेडिकल लाइसेन्स परीक्षामा ६० प्रतिशत फेल, शैक्षिक गुणस्तरमाथि प्रश्न
    • बेल संचार

    • १४ माघ २०८२, बुधबार

काठमाडौँ ।

नेपाल मेडिकल काउन्सिलद्वारा लिइएको नाम दर्ता (लाइसेन्स) परीक्षामा सहभागी चिकित्सकमध्ये करिब ६० प्रतिशत अनुत्तीर्ण भएका छन्। काउन्सिलले सञ्चालन गरेको एमबीबीएस तथा बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा जम्मा ३९.४५ प्रतिशत मात्र उत्तीर्ण भएको रजिष्ट्रार डा. सतिस कुमार देवले जानकारी दिए।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा मंगलबार र बुधबार कम्प्युटर विधिबाट परीक्षा सञ्चालन गरिएको थियो। परीक्षामा सहभागी ९४३ जनामध्ये ३७२ जना मात्र उत्तीर्ण भएका छन्।

लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएस दुवैतर्फ गरी ९६७ जनाले आवेदन दिएका थिए। तीमध्ये २४ जना परीक्षामा अनुपस्थित रहेको काउन्सिलले जनाएको छ।

एमबीबीएसतर्फ ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना परीक्षामा सहभागी भए। तीमध्ये ३०० जना अर्थात् ३८.७ प्रतिशत मात्र उत्तीर्ण भएका छन्। यस्तै, बीडीएसतर्फ १७४ जनाले आवेदन दिएकोमा १६८ जना परीक्षामा सहभागी भएका थिए, जसमा ७२ जना (४२.८५ प्रतिशत) सफल भएका छन्।

यस नतिजाले देशका मेडिकल कलेज तथा विश्वविद्यालयहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ। तर रजिष्ट्रार डा. देवले भने यसपटक अनुत्तीर्ण भएकामध्ये धेरैजसो अघिल्ला परीक्षामै फेल भइसकेका परीक्षार्थी रहेको दाबी गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित