सेयर बजार सूचक घट्दा पनि कारोबार रकम मजबुत
सेयर बजार सूचक घट्दा पनि कारोबार रकम मजबुत
    • बेल संचार

    • १५ माघ २०८२, बिहीबार

काठमाडौँ ।

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ। बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र सूचकमा दबाब परेको हो।

बुधबार ५ अंकले बढेको नेप्से बिहीबार १७.५३ अंकले घट्दै २७१४.०५ बिन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इन्डेक्स पनि १.५६ अंकले घटेको छ। बिहीबार नेप्सेमा कारोबार भएका ३२० कम्पनीमध्ये ८५ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको घटेको छ। सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो।

सूचक घटे पनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ। नेप्सेका अनुसार बिहीबार १ लाख ३८ हजार ८ सय ८३ पटकको कारोबारबाट १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको ३ करोड ५४ लाख ७७ हजार कित्ता सेयर किनबेच भएको छ। बुधबार भने ११ अर्ब रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो।

लगानीकर्ताहरूका अनुसार आगामी २१ फागुनको निर्वाचनलाई लक्षित गर्दै खर्च व्यवस्थापनका लागि सेयर बिक्री बढेकाले बजार दबाबमा परेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि, घट्दो सूचकका बाबजुद कारोबार रकम बढेकाले बजारमा नयाँ लगानीकर्ता प्रवेश गर्ने आशा भने कायम रहेको उनीहरूको भनाइ छ।

बिहीबार समूहगत सूचकतर्फ बैंकिङ, विकास बैंक, वित्त, होटल, जीवन बीमा, उत्पादनमूलक, लघुवित्त, निर्जीवन बीमा, व्यापार र अन्य समूह ओरालो लागेका छन्। तर जलविद्युत्, लगानी र सामूहिक लगानी कोष समूहमा भने सामान्य सुधार देखिएको छ।

यस दिन हिमालय दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको नेप्सेले जनाएको छ।


चाहनु भएमा यसलाई

साताकाे चर्चित
सम्बन्धित