काठमाडौँ।
संघीय राजधानीलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक तोकिएको समयसीमाभित्रै सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य अघि बढिरहेको नेपाली सेनाले जनाएको छ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार नेपाल सरकारबाट प्राप्त २०८३ चैत मसान्तको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको छ। “समयमै सक्ने लक्ष्यअनुसार निर्माण कार्य निरन्तर अघि बढिरहेको छ,” उनले बताए।
हालसम्म फास्ट ट्र्याकको भौतिक प्रगति ४५.१६ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४५.३३ प्रतिशत रहेको सेनाले जानकारी दिएको छ।
फास्ट ट्र्याक अन्तर्गत कुल १०.९७९ किलोमिटर सुरुङ निर्माण हुनुपर्नेमा लेन डाँडा र धेद्रे सुरुङको ब्रेकथ्रु सम्पन्न भइसकेको छ। महादेवटार सुरुङमार्गको करिब ७० प्रतिशत काम सकिएको छ।
यस आयोजनामा निर्माण हुनुपर्ने ८९ पुलमध्ये १३ वटा पुल सम्पन्न भइसकेका छन् भने बाँकी अधिकांश पुलको ठेक्का भई निर्माण कार्य सुरु भएको सेनाले जनाएको छ।
निर्माणका क्रममा ५४ हजार रुख कटान गरिएको भए पनि वातावरणीय सन्तुलनका लागि ७ लाख ५० हजार बिरुवा रोपिएको छ। तीमध्ये १ लाख ५१ हजार बिरुवा हुर्काएर सामुदायिक वनलाई हस्तान्तरण गरिएको प्रवक्ता बस्नेतले जानकारी दिए।
यद्यपि, खोकना क्षेत्रमा देखिएको विवाद भने अझै समाधान हुन नसकेको र त्यसको समाधानका लागि सम्बन्धित निकायहरूसँग छलफल भइरहेको सेनाले जनाएको छ।