काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेका मनऋषि धितालले जुम्लाका मतदाताले यसपटक आफूलाई जिताउने विश्वास बलियो बन्दै गएको बताएका छन्।
आइतबार राजधानीस्थित संवाद डबलीमा आयोजित कार्यक्रममा आफ्ना चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै धितालले जुम्ली जनताले पुरानै राजनीतिक ढाँचा र आडम्बरबाट दिक्क भइसकेको दाबी गरे। उनका अनुसार अब मतदाताले व्यवहारिक, परिपक्व र जवाफदेही नेतृत्व खोजिरहेका छन्।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका धितालले प्रमुख दल र तिनका नेताहरूले समयअनुसार आफूलाई रूपान्तरण गर्न नसक्दा जेनजी विद्रोह जन्मिएको उल्लेख गरे। “जनताको चेतनामा आएको परिवर्तनलाई पुराना दलहरूले अझै पनि स्वीकार गर्न सकेका छैनन्,” उनले भने, “त्यसैले मैले पनि वैकल्पिक बाटो रोजेँ।”
उनले विगतमा आस्था र विचारभन्दा दासतालाई केन्द्रमा राखेर नेताहरूलाई देवता बनाइएकै कारण जनताको बलिदान खेर गएको टिप्पणी गरे। “त्यही गलत परम्परा तोड्ने उद्देश्यसहित मेरो उम्मेदवारी हो,” धितालले जोड दिए।
धितालका अनुसार देशलाई अहिले वैकल्पिक राजनीतिक शक्तिको खाँचो छ र जुम्ली जनताले पनि यही आवश्यकता गहिरोसँग महसुस गरेका छन्। यही कारण जुम्लाबाट आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
चुनावी प्रतिबद्धतामा धितालले जुम्लाको ऐतिहासिक र गौरवशाली पहिचानलाई पुनर्जीवित गर्ने, जिल्लाको समग्र विकासका लागि नीतिगत सुधार गर्ने, शिक्षा, स्वास्थ्य र सञ्चारजस्ता आधारभूत क्षेत्रलाई प्राथमिकतामा राख्ने उल्लेख गरेका छन्। साथै पर्यटन र कृषिमा क्रान्तिकारी सुधारको आधार तयार गर्ने तथा पूर्वाधार विकासलाई योजनाबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन्।