काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आइतबारदेखि ७० वर्षमाथिका ज्येष्ठ नागरिकका लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा र परीक्षण कार्यक्रम सुरु गरेको छ ।
महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले कार्यक्रमको औपचारिक उद्घाटन गर्दै स्वास्थ्य सेवामा पहुँच नपाएका ज्येष्ठ नागरिकसम्म सेवा पुर्याउने प्रतिबद्धता जनाइन् ।
कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकको प्रेसर जाँच, सेवन गरिरहेका औषधिको विवरण संकलन, मेडिकल हिस्ट्री अध्ययन तथा आवश्यक आधारभूत स्वास्थ्य सेवा प्रदान गरिनेछ । स्वास्थ्य प्रवर्द्धन केन्द्रसम्म जानसक्नेहरूलाई केन्द्रमै सेवा दिइनेछ भने घरमै पुगेर सेवा लिन नसक्नेहरूका लागि घरमै स्वास्थ्यकर्मी पुग्ने व्यवस्था गरिएको छ ।
कार्यवाहक प्रमुख डंगोलले यस पहलले आगामी वर्षको नीति तथा कार्यक्रम तयार पार्न एभिडेन्स–आधारित जानकारी संकलनमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले भनिन्, “जेष्ठ नागरिकहरूको स्वास्थ्य अवस्था बुझेर घरमै सेवा उपलब्ध गराउने यस कार्यक्रमले हाम्रो नीति निर्माणलाई ठोस आधार दिनेछ ।”
यस कार्यक्रमले शारीरिक अशक्तता, दीर्घ रोग वा अन्य कारणले नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण र उपचारमा सहयोग पुर्याउने उद्देश्य राखेको छ ।