अन्डर–१९ साफ महिला च्याम्पियनसीप: आज पोखरामा दुई निर्णायक लिग खेल
अन्डर–१९ साफ महिला च्याम्पियनसीप: आज पोखरामा दुई निर्णायक लिग खेल
    • बेल संचार

    • १९ माघ २०८२, सोमबार

काठमाडौँ ।

पोखरा अन्तर्राष्ट्रिय फुटबल रङ्गशालामा जारी १९ वर्षमुनिको साफ महिला च्याम्पियनसीप फुटबल प्रतियोगिताअन्तर्गत आज लिग चरणका दुई महत्वपूर्ण खेल हुँदैछन्।

आजको पहिलो खेलमा साविक विजेता बङ्गलादेश र भारत आमनेसामने हुनेछन्। खेल मध्यान्ह १२ बजे सुरु हुनेछ। त्यसपछि घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगितामा सहभागी नेपाल र भूटान दुवैले आफ्नो पहिलो खेलमा पराजय बेहोरेका कारण आजको खेल दुवैका लागि ‘कर वा मर्नु’को अवस्थामा पुगेको छ। नेपाल पहिलो खेलमा भारतसँग १–० गोलले पराजित भएको थियो भने उद्घाटन खेलमा भूटान बङ्गलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो।

फाइनल पुग्ने सम्भावना जोगाइराख्न नेपाल र भूटान दुवै टोलीलाई आजको खेल जित्नैपर्ने दबाब रहेको छ। उता बङ्गलादेश र भारत भने आफ्नो–आफ्नो पहिलो खेल जित्दै समान तीन अङ्कका साथ लिगको शीर्ष स्थानमा छन्।

यसपटक प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश र भूटान गरी चार टोलीको सहभागिता रहेको छ। दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वयमा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन भइरहेको छ, जसअन्तर्गत प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्नेछ।

लिग चरणको समाप्तिपछि शीर्ष दुई टोली माघ २४ गते हुने फाइनल खेलमा उपाधिका लागि भिड्ने साफका महासचिव पुरुषोत्तम कट्टेलले जानकारी दिए।

साताकाे चर्चित
सम्बन्धित