काठमाडौं ।
केही दिनको निरन्तर गिरावटपछि नेपाली बजारमा सुनको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले उकालो लागेको हो।
मंगलबार सुन प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यसअघि आइतबारको तुलनामा सोमबार मात्रै सुनको भाउ तोलामा १३ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८६ हजार ६ सय रुपैयाँमा झरेको थियो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला १ सय ३५ रुपैयाँले वृद्धि भई ५ हजार ३ सय ३५ रुपैयाँ पुगेको छ।
सोमबार चाँदी प्रतितोला ५ हजार २ सय रुपैयाँमा किनबेच भएको थियो। अन्तर्राष्ट्रिय बजारको उतार–चढाव र माग–आपूर्तिको अवस्थाले स्थानीय बजारमा सुनचाँदीको मूल्य प्रभावित भइरहेको व्यवसायीहरू बताउँछन्।