काठमाडौं ।
स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा देखिएको समस्याप्रति प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। सो विषयमा छलफल गर्न प्रधानमन्त्रीले सरोकारवाला निकायको बैठक बोलाएकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बुधबार दिउँसो १:३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ। बैठकमा स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्था, भुक्तानी समस्या र सेवामा आएको अवरोधबारे छलफल हुने जनाइएको छ।
बीमा बोर्डसँगको भुक्तानी समस्या र रकम अभावका कारण सबै बीमित नागरिकले स्वास्थ्य बीमाको सेवा लिन नसकेको अवस्था छ। पछिल्ला दिनहरूमा केही ठूला अस्पतालहरूले बीमा सेवा दिन नसक्ने भन्दै सार्वजनिक सूचना नै जारी गरेका छन्।
यसअघि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जले स्वास्थ्य बीमा बोर्डले करिब ४० करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेकाले बीमा सेवा स्थगित गर्नुपरेको जानकारी दिएको थियो। यस्तै समस्या अन्य अस्पतालहरूमा पनि देखिन थालेपछि स्वास्थ्य बीमा बोर्डले सेवा सीमित गर्ने निर्णय गरेको छ।
स्वास्थ्य बीमा बोर्डले सोमबार जारी गरेको सूचनाअनुसार एक आर्थिक वर्षमा बाह्य रोगी सेवा (ओपिडी) अन्तर्गत अधिकतम २५ हजार रुपैयाँसम्म मात्र उपचार सुविधा उपलब्ध गराइनेछ। सो सीमा सकिएपछि मात्र अस्पताल भर्ना, प्रयोगशाला परीक्षण र आकस्मिक उपचार सेवा लागू हुने बोर्डले जनाएको छ। उक्त व्यवस्था आगामी फागुन १ गतेदेखि कार्यान्वयनमा आउनेछ।